विदेशबाट पनि स्रष्टाको रोयल्टी उठाउने वातावरण बन्नुपर्छ

म्यूजिक खबर
प्रकाशित: २० कार्तिक २०७४, सोमबार

कन्हैया सिंह, गायक/सङ्गीतकार


कन्हैया सिंह लोकप्रिय गायक एवं संगीतकार हुनुहुन्छ । नेपाली गीतसंगीतको क्षेत्रलाई सदैव शीरमा राखेर अघि बढ्ने गायक सिंह पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । सपरिवार अमेरिका बसे पनि उहाँ नेपाली गीतसंगीतलाई भने कहिल्यै पनि टाढा राख्न चाहनुहुन्न । इनास अवार्ड र एनआरएनको चुनावका लागि भर्खरै मात्र नेपाल आइपुग्नुभएका गायक सिंह यूनाइटेड नेप्लिज आर्टिष्ट एसोसिएसन नर्थ अमेरिका (युनाना) र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को मेरिल्याण्ड राज्यसममितिको अध्यक्षसमेत हुनुहुन्छ । विदेशमा रहेर पनि सबै कलाकारहरुलाई एकै छातामुनी राख्न सफल गायक सिंह आफ्नो नयाँ एल्बम आलाप–३ को तयारीमा समेत लाग्नुभएको छ । प्रस्तुत छ म्यूजिक खबरका लागि सुमन बैरागीले गायक सिंहसँग गरेको कुराकानीः


कस्तो चल्दैछ सांगीतिक जीवन ?
व्यापक व्यस्तताका साथ अघि बढिरहेको छ । पहिले देशभित्रै कार्यक्रमहरुमा व्यस्त भइन्थ्यो अहिले विदेशका कार्यक्रमहरुमा व्यस्त भइएको छ । त्यहाँ माथि पनि अमेरिकाजस्तो मुलुकमा विभिन्न नेपाली चाडपर्वको अवसरमा आयोजना गरिने सांगीतिक कार्यक्रमहरु अनिवार्य रुपमा सहभागी हुनु नै पर्छ । महिनामा २–३ वटा कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिँदै आइएको छ ।

विदेशमा संगीतमै लागेर हिंड्न कत्तिको सजिलो छ ?
गीतसंगीतमा स्थापित भइसकेको व्यक्तिलाई देश र परिवेशले फरक पार्दैन । त्यहाँ आयोजना भएका विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा चाहेर पनि अलग रहन सकिँदैन । कार्यक्रममा सहभागिताको लागि व्यवसायिक रुपमा अफरहरु आइराखेकै हुन्छन् । प्राय कार्यक्रमहरु विदाको दिनमा आयोजना हुने भएकाले कामहरुलाई पनि मिलाएर, व्यवसाय छाडेर सांगीतिक कार्यक्रमहरुमा समय दिँदै आइएको छ । हुन त पूर्ण रुपमा कलाकारितामै समर्पण हुन सकिँदैन विदेशमा । स्वदेश होस् या विदेश चलेको कलाकारलाई त्यस्तो असहज हुँदैन । त्यसमा पनि विदाको दिन सांगीतिक कार्यक्रममा सहभागी हुनु भनेको त्यस्तो असहज हुँदैन ।


नयाँ सांगीतिक कोसेली केही आउँदैछ की ?
अब छिट्टै ल्याउने तयारीमा छु । आफ्नो नयाँ एल्बम आलाप–३ तयारीमा छु । एल्बमका धेरैजसो काम सकिएको छ । दुई वटा काम बाँकी रहेको हुनाले सम्भवतः एक हप्ताभित्र सकिएर यही महिनाभित्र सांगीतिक बजारमा ल्याउने तरखरमा छु ।

आलाप–३ भित्र कस्ता गीतहरु समावेश हुँदैछन् ?
आलाप भाग १ र २ भित्र सुगम संगीतमा आधारित गीतहरु नै छन् । ती गीतहरु जसरी स्रोताहरुले मन पराइदिनु भयो त्यही अनुसारकै गीतहरु अबको एल्बममा पनि रहनेछन् । १ र २ गीतहरु नयाँपनका साथमा केही पृथक दिने सोचमा छु ।

पछिल्लो समय गीतसंगीतमा प्रतिफल शून्यको अवस्था छ, लगानी मात्रै गर्न कसरी सम्भव हुन्छ ?
तपाईंको कुरामा सहमति जनाउँछु । अहिले बजार शून्यप्राय बनेको छ । अडियो भिडियो बिक्री गरेर कलाकार स्रष्टाहरुलाई प्रत्यक्ष आम्दानी हुने कुरा छैन । तर म एउटा गायक पनि भएको हुँदा कार्यक्रममा आयोजकहरुले बोलाउनु हुन्छ । पारिश्रमिक पाउँछु, मेरा गीतहरु पनि नेपाली दर्शक स्रोताहरुले किनिदिनुहुन्छ । त्यसरी हेर्दा आफ्नै एल्बम प्रस्तोताका हिसाबले आयआर्जन गर्न सहज भइरहेको छ । पछिल्लो समयमा गीतकार संगीतकारहरुलाई अहिलेको बजारले मार पुगेको छ । रोयल्टी र यूट्यूबको आम्दानीले केही हदसम्म काम गरेको होला तर जति पाउनु पर्ने त्यो भने पाउन सकेका छैनन् । समग्रमा नेपाली कलाकारहरुले नेपाली संस्कृतिको लागि भने योगदान नै गरिरहेकै छन् । यसमा राज्यले पनि यस्ता स्रष्टाहरुलाई बेलैमा संरक्षण गर्नुपर्ने तिर ध्यान दिनुपर्छ ।


विदेशमा हुने सांस्कृतिक कार्यक्रमले प्रस्तोतालाई त फाइदा पुगेको होला तर स्रष्टाले रोयल्टी त पाउन सकेका छैनन् नि ?
एकदमै यो गम्भीर प्रश्न गर्नुभयो । जसरी अहिले पछिल्लो समयमा नेपाली संगीत क्षेत्रमा रोयल्टीको काम चौतर्फी रुपमा बढिरहेको छ । त्यस प्रक्रियालाई देशमा मात्र नभएर विदेशमा पनि लागू हुने काम गर्दा राम्रो हुन्थ्यो । रोयल्टीका नीति नियमलाई विदेशमा हुने कार्यक्रमहरुका आयोजक, संघ संस्थाले पनि लागू गर्नुपर्छ । संगीत उद्योगको उत्थानको लागि विदेशमा हुने कार्यक्रमका आयोजकले पनि जिम्मेवारी लिनुपर्छ । कुनै गीतसंगीत सार्वजनिक प्रयोग हुन्छ, आयोजकले त्यसको रेकर्ड राखेर स्रष्टाको रोयल्टी बुझाउने काम गर्नुपर्छ । विदेशको लागि पनि संगीत रोयल्टी संकलन समाजले उचित सिस्टम बनाएर अघि बढोस् । विदेशमा हुने कार्यक्रमका आयोजकलाई जानकारी गराइयोस् र सिस्टममा ल्याइयोस् । रोयल्टी विदेशबाट कलेक्सन गर्न जरुरी छ । नेपाली राजदूताबासमार्फत् सांस्कृतिक कार्यक्रमहरुका आयोजकले नेपाली स्रष्टाहरुको बौद्धिक सम्पत्तिको सुरक्षा गर्नुपर्ने र रोयल्टी व्यवस्थापन गर्ने वातावरण बनाउनु पर्छ ।

अमेरिकामा कलाकारहरुको सञ्जाल कस्तो छ ?
आजभन्दा तीन चार वर्ष अगाडि कलाकारहरु व्यक्तिगत रुपमा लाग्थे भने पछिल्लो समय संस्थागत रुपमा पनि लागेका छन् । मेरै क्रियाशीलतामा धेरै कलाकारहरुलाई एकै ठाउँमा जम्मा गरेर यूनाइटेड नेप्लिज आर्टिस एसोसिएसन, नर्थ अमेरिका (यूनाना)को गठन भएको छ । त्यसले अमेरिकामा रहेका कलाकारहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरिएको छ । कति संस्थामा आबद्ध हुनुहुन्छ भने कति व्यक्तिगत रुपमा क्रियाशील हुनुहुन्छ । पछिल्लो समय संस्था चाहिन्छ भन्ने सोच सबैमा आएको छ । अमेरिकामा पनि चलचित्र, संगीत, वाद्यवादक, नाट्य क्षेत्रका लगायत थुपै्र गीतकार, संगीतकार, कलाकारको बाहुल्य छ । त्यसमा पनि नेपाली कलाकारको राजधानी नै बनिसकेको अमेरिकाको मेरिल्याण्ड राज्य । पछिल्लो समयमा मेरै अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्याण्ड राज्यसमितिको गठन भएको छ । त्यसबाट पनि गीतसंगीतका गतिविधिहरु कला र संगीतका गतिविधिहरु हामीले संचालन गर्दै आइरहेका छौं ।


अमेरिकाको व्यस्त जीवनमा पनि संघसंस्थामा कसरी समय दिन सकिन्छ ?
वास्तवमा भन्नु पर्दा अमेरिकाको जीवन साह्रै व्यस्त नै हो । त्यहाँ व्यस्त भइएन भने जीवनयापन गर्न पनि गाह्रो हुन्छ । त्यहाँको सिस्टममा पनि आउन सकिँदैन । हामी सामान्य व्यक्ति भएर बसेकोभए काम मात्र सोचिन्थ्यो । तर हामीले स्वदेशबाटै एउटा आफ्नो पहिचान बनाएर गएका कारण चाहेर पनि संघसंस्था र सामाजिक कार्यक्रमबाट अलग रहन सक्दैनौं । इच्छा भएपछि उपाय अवश्य नै हुन्छ ।

अन्त्यमा ?
जसरी मलाई जसरी एउटा गायक संगीतकारको रुपमा देश विदेशमा मन पराइदिनु भएको छ । त्यसरी नै आगामी दिनमा पनि मन पराइदिनु हुनेछ भन्ने आशा लिएको छु । मेरा आउने कृतिहरुलाई पनि तपाईंहरुको माया प्रेम र सद्भाव खाँचो छ । मेरा व्यक्तिगत सांगीतिक विचार यस नेपालको एक मात्र पाक्षिक म्यूजिक खबर परिवारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । जय संगीत ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु