“सङ्गीतकार बन्नु अगाडि नै सङ्गीतकार”

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७३, बिहीबार

फागुन १२, काठमाण्डौ । नेपालमा सानैदेखि संगीतकार बन्ने उद्देश्य लिने मान्छे कमै हुन्छन् । पहिलो कुरा त संगीतकारको काम के हो भन्ने कुरा नै बुझेको हुँदैन । भाका बनाउने, एरेन्ज गर्ने, बाजा बजाउने, कुन धून हाल्ने भन्ने कुरामा के हो संगीतकारको काम भन्ने मलाई नै थाहा थिएन । अधिकांश संगीतकारको यात्रा गायनबाट सुरु भएको छ भने मेरो पनि गीत गाएर नै यो क्षेत्रमा आएको हुँ । दुःखी मुहार आँसुले धुँदै बोलको लोकगीतबाट मैले यो क्षेत्रमा प्रवेश गरेको हुँ । गीत गाउँदा गाउँदै संगीतकार बनेकामध्ये म पनि हुँ तर संगीतकार नै बन्छु भनेर आउने कमै होलान् । मलाई पनि संगीतकार भनेको थाहा थिएन, गीत लेख्ने, गाउने, भाका बनाउने गर्थें । तर पछि आएर थाहा भयो संगीतकारको अर्थ बुझेको हुँ । पहिले नै म संगीतकार रहेछु, भाका बनाउँथे, बाजा बजाउने र बनाउने, गीत गाउने जस्ता काम त गरिरहेकै थिएँ ।

bb anuragi_1
जब म रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा आयोजना भएको लोकगीत सम्मेलनमा भाग लिएको थिएँ । ५ सय जनाले भाग लिएकोमा २० जनाले मात्र रेडियोमा रेकर्ड गर्ने अवसर पाउँथे । सबैले गुनगुनाएको सुन्दा म त गायक बन्दिनँ भन्ने लागेको थियो तर भाग्यले साथ दियो तेश्रो नम्बरमा नाम निस्केछ । त्यही लोकगीत रेकर्ड भयो । त्यतिखेर लाग्थ्यो म गायक बन्छु तर टप गायक बन्न सक्दिनँ । संगीतकार चाहिँ बन्छु भन्ने सोचेको थिएँ । त्यसपछि मैले संगीतको कक्षा लिन थालेँ, पाश्चात्य, पूर्वीय, शास्त्रीय संगीतको गुरु बनाएँ र संगीत गर्न थालेँ । संगीतकार बन्नका लागि सबै बाजा बजाउनु पर्छ, ब्याकराउन्डमा बज्ने सबै म्यूजिक संगीतकारले नै बनाउने हो भन्ने लागेको थियो । त्यतिबेला होस्टलमा बसेका साथीभाइले मेरो संगीतमा गीत गाउने कुरा भयो । संगीत बनाउने काम गरेँ, बाँसुरी, हारमोनियम, मादल, तबला सबै वाकमेनमा रेकर्ड गरेर संगीतको धून तयार पारेँ । त्यसपछि काठमाडौंमा रेकर्ड गर्नका लागि साथीहरुलाई पठाएँ । काठमाडौंमा आएपछि स्टुडियोले एरेन्जरकोमा पठाइदिएछ र एरेन्ज भएपछि डमी भोकल हालेर पोखरा फर्किएँ । त्यो डमी सुन्दा लाग्यो मेरो संगीत नै छैन, त्यति दुःख गरेर बनाएँ तर केही पनि छैन । मेरो संगीत खै ? भनेर सोधेँ, उनीहरुले यो गीतको संगीतकार तपाईं नै हो यो त मेसिन, किबोर्डबाट बनाएर ल्याएको हो । सिस्टमले गरेको हो । त्यसपछि बल्ला थाहा भयो यो सबै काम एरेन्जरले गर्ने रहेछ संगीतकार त भाका बनाउने मात्र रहेछ । तर मलाई एरेन्जर हुने बाटो भने बनाएको रहेछु । अनभिज्ञतामै म संगीतकार भएको रहेछु । सुरुवाती अवस्थामा नजानेर धेरै काम गरेँ तर अहिलेसम्म लगभग एक हजार गीतमा संगीत गरेको छु भने ६ हजार जतिमा एरेन्ज गरेको छु ।

bb anuragi
अध्ययनकै सिलसिलामा बी.एड. सकियो, होस्टल छोड्नुपर्ने बेला भयो । त्यही बेला राजकुमार बगरजीसँग भेट भयो । उहाँको पनि बी.एड. सकिएको अवस्था तर उहाँ डेरामा बस्नुहुन्थ्यो । हामी सँगै बस्ने सल्लाह ग¥यौं । त्यतिबेला राजकुमारजी गीत डायरीमा लेख्ने, पत्रिकामा छपाउने गर्नुहुन्थ्यो र संगीत पनि सिक्दै हुनुहुन्थ्यो । म भोलाप्रसाद गुरुसँग संगीत सिक्दै गरेको थिएँ, गुरुसँग सिकेको कुरा डेरामा आएपछि अभ्यास गर्ने गर्थें । उहाँ नाम चलेकै गीतकार बनिसक्नुभएको थियो । डेरामा राजकुमारजीले भन्नुभयो कति त्यही अभ्यास मात्रै गर्नुभएको अब संगीत पनि गर्नुस् भनेर शब्द दिनुभयो । शब्द मेरो मन छुने थिए, तर उहाँले नै भनेको शब्दमा मैले संगीत गरेको एक सटमै बन्यो । त्यो मेलोडी उहाँ पनि गाउनुहुन्थ्यो, म पनि त्यसमै अभ्यास गरिरहन्थे । एक दिन पोखराको पपुलर गायक रामभक्त जोजिजूलाई राजकुमारजीले त्यो गीत सुनाउनु भएछ । त्यसपछि रामभक्त जोजिजू डेरामै आउनुभयो, गाएर सुनाउनु पनि भयो । मैले उहाँको कार्यक्रम पोखरामा धेरै हेरको थिए, गीत सुनेर स्तब्ध हुन्थें । ०५५ रेडियो नेपालमा राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा भाग लिने र यो गीत नै गाउने प्रस्ताव गर्नुभयो । त्यस प्रतियोगितामा गीतकार र गायकले प्रथम स्थान हासिल गर्दा म अत्यन्तै खुशी भए । त्यसपछि राष्ट्रव्यापी रुपमा चिनिँए, धेरै संगीत गर्ने अवसर मिल्यो । मलाई पोखरामा भ्याइनभ्याइ हुन थालेँ ।

मैले यो गीतपछि एरेन्जको काम पनि सुरु गरेँ । झन् व्यस्त बन्दै गएँ । मलाई थाहा भयो म पहिले नै एरेन्जर बनेको रहेछु जस्तो लाग्यो । भाका बनाएर मात्रै संगीतकार बन्दा खल्लो लाग्न थाल्यो, एरेन्ज अनिवार्य जस्तै लाग्यो । बाग्लुङबाट आएर पोखरामा कर्मथलो बनाउँदा स्थानीयस्तरमा म चल्तीको संगीतकार बनेको रहेछु । म ०६० सालमा काठमाडौं छिरेको हुँ । काठमाडौंमा रेकर्ड गर्नुपर्दा प्रायजसो म्यूजिक नेपाल र रिमा रेकर्डिङमा काम हुन्थ्यो । रिमामा एरेन्ज लिएर आउँदा नारायण रायमाझीले मेरो एरेन्ज सुनेर काठमाडौं बस्छौं भन्ने प्रस्ताव गर्नुभयो । काठमाडौंमा संगीतका धुरन्धर छन्, म त बच्चा नै हुँ, पोखरामा भएको कमाइ जति नै यहाँ हुँदैन भन्ने मलाई लागेको थियो । नारायण दाइले तलबमा काम गर्ने वा एउटा गीत एरेन्ज गरेको यति भनेर काम गर्ने भन्नुभयो । उहाँ र मेरो मिटिङ भयो, मैले तलबमा काम गर्छु भनेँ । उहाँले सिधै तलब तोकिदिनुभयो । मैले सोचेको भन्दा तीन गुना बढी तलब पाउने भएँ । मेरो बोली नै रोकियो । उहाँले एकाउन्टेनलाई भेटेर जानु भन्नुभयो । एकाउन्टमा गएको त १० हजार एडभान्स पाएँ । नसोचेका भयो अब मैले कसरी काम गर्ने हो भन्ने द्विविधामा परेँ । पोखरा फर्किएँ, भाइबहिनीसँग सल्लाह गरेँ । त्यसपछि श्याम भाइलाई लिएर काठमाडौं आएँ । ओढ्ने ओछ्याउने गाडीमा लोड गरेर आएका थियौं । थानकोट आएपछि फोन ग¥यौं बसपार्कमा नारायण दाइले लिन पठाउनु भएको रहेछ । सामान लिएर कोठामा ल्याएँ । कोठामा पर्दा, कार्पेट हालेर तयारी रहेछ, दुईवटा कोठा छ पुग्दैन की भन्नुभयो । हामी दङ्ग प¥यौं ।

teko sandhya
अब स्टुडियोमा काम सुरु भयो, म एरेन्जमा व्यस्त भएँ । श्याम भाइले नजानेरै एक दिन नारायण दाइको अगाडि रेकर्ड गरेको रहेछ त्यत्तिकैमा दाइले रेकर्डिष्ट बनाइदिनुभयो । अब हामीलाई लाग्यो दाइले धेरै दिनुभयो, हामीले दिएको कमी भएको छ भन्ने लाग्यो । हामी ड्यूटी समयभन्दा पनि रातिसम्म काम गथ्र्यौं । रिमाबाट निस्केका गीतहरु चर्चाको शिखरमा पुग्थे । हामीले कमी हुन दिएनौं जस्तो लाग्यो । लोकदोहोरी क्षेत्रका चल्तीका प्राय सबैको गीत एरेन्ज गरेको छु । मैले अहिलेका चल्तीका एरेन्जहरुका गीतमा एरेन्ज गरेको छु । काठमाडौंमा आएपछि म धेरै व्यस्त एरेन्जरको रुपमा परिचित भएँ, संघर्ष गर्नु परेन । यतिसम्मकी मेरो विधा संगीतकार हो भन्ने नै बिर्सिएँ । विहानदेखि बेलुकादेखि एरेन्जमै व्यस्त भएँ तर पनि वर्ष वर्षमा एकल संगीतमा एल्बम पनि बजारमा ल्याइरहेँ । फूल, मोहनी, आकर्षण, तरङ्ग, राम कसमलगायतका एल्बमहरु बजारमा छन् । उडेर जून, ज्यान माया, मेरो माया कलकल बग्ने धाराको पानी, जहाँ तिमी त्यहाँ म, माया गर्नुको अर्थ सिउँदो भर्नु होइन, झम तारा झमझम, तिम्रै झल्को, फूल जस्तै पवित्र लगायतका सयौं गीत चर्चामा छन् । चलचित्रहरुमा पनि बाटुली, दृष्टिकोण, निशानी, नागबेली, गोर्खा पल्टन, परदेशी लगायत केही चलचित्रहरुमा पनि संगीत गरेँ । चलचित्र बाटुलीबाट केही अवार्डहरु पनि प्राप्त गरेँ । नारायण दाइकै श्रेयमा स्टुडियो संचालनसमेत गरिएको छ । पुरानो रिमालाई प्रिज्म बनाएर हामीले संचालन गरेका हौं । हामी जहाँ छौं त्यो सबै नारायण दाइकै श्रेय हो । उहाँकै माया, स्नेह र आर्शिवादमा यहाँसम्म आइपुग्यौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु