सौन्दर्यकर्मी कमलाका पौरखी कथा

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७३, मंगलवार

कमला घिमिरे निरौला
ब्यूटिसियन


श्रृंगार बिना आज महिलाले आफूलाई अपूर्ण महशुष गर्छन् । श्रृंगार महिलालाई सुन्दरता झल्काउने एउटा अभिन्न पाटो पनि हो । त्यसैले आजका महिला आफूलाई सक्दो सुन्दर देखाउन चाहन्छन् । यस्तै आफ्नो सुन्दरतामा निखार ल्याउन चाहनेहरुका लागि र सुन्दर बनाउने सिप सिक्न चाहनेहरुका लागि विगत ९ वर्षदेखि सौन्दर्य व्यवसायमा संलग्न छिन् कमला घिमिरे निरौला । सामाखुसी क्षेत्रमा अब्बल सौन्दर्यकर्मीका रुपमा स्थापित भैसकेकि कमलाले पिसफुल ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर मार्फत आफूलाई सक्रिय बनाउँदै आएकी छिन् ।

वि.सं. २०३६साल पौष २७ गते सुनसरीको चकरघट्टीमा जन्मिएकी कमलालाई सानैदेखिको अभिरुचीले आज सफल सौन्दर्यकर्मीको परिचय दिलाएको हो । बाल्यकाल सम्झिंदै कमला सुनाउँछिन् – ‘कक्षा ३ मा पढ्थें, नक्कल पार्न खुब मन लाग्थ्यो । कपाल काट्न मन लाग्थ्यो । त्यतिबेला कहाँ पाउनु कपाल काट्नलाई कैंची । रहरका अगाडि के लाग्थ्यो र घाँस काट्न प्रयोग गरिने हँसियाले नै कपाल काटेको छु । त्यो नै मेरो ब्युटिसियन बन्ने लक्षण थियो ।’ उनी फेरि विगत सम्झिंदै भन्छिन् – ‘यो पेशाको हुटहुटी कति थियो भन्ने अहिले सम्झिंदा पनि अचम्म लाग्छ, हा“सो पनि उठ्छ । बुबा शान्तिसेनाको आर्मी । आमालाई आइस्याडो ल्याइदिनुभएको थियो । त्यो आइस्याडो मैंले स्कुल लिएर गएँ । आफूले लगाएँ, साथीहरुलाई पनि लगाईदिएँ । घरबाट स्कुलमै कम्प्लेन आयो । सरले अनुहार आइस्याडोले पोतेर रातै भएको अवस्थामा भेट्नुभयो । यस्ता सम्झना पनि मेरो लागि ब्युटिसियन बन्ने लक्षण रहेछन् भन्ने लाग्छ ।’kalpanaआफ्ना सन्तानले पढिदिउन्, राज्यका उच्च ओहदामा पुगुन् भन्ने हरेक आमाबुबाको सपना हुन्छ । कमलाको बुबाले पनि छोरी वकिल बनिदियोस् भन्ने चाहेका थिए । ब्युटिसियन पेशालाई अर्मायादित मान्ने त्यो समाजमा कमलाको परिवार पनि अछुतो रहेन । कमलाको विवाह भयो । सुनसरीकै प्रकाशपुरमा उनी बुहारी भएर भित्रिइन् ।

महिला भएपछि स्वाबलम्बी बन्न सक्नु पर्छ भन्ने कमलाको विचार बुझेपछि उनका श्रीमानले टेलरिङका लागि सुझाव दिए । ५०० रुपैंया टेलरिङ टे«निङ सेन्टरमा तिरिदिए । तर मनै नभएपछि के लाग्छ र ? कमलाको मन जति ब्युटिपार्लरमा तन किन जान मान्थ्यो र टेलरिङमा ? ब्युटिपार्लरको कोर्ष सिक्छु नि बरु भन्दा श्रीमान्को खासै सपोर्ट नपाएपनि हिम्मत गरेर सिक्न गइन् । श्रीमानलाई पनि कन्भिस गर्दै गइन् । श्रीमानले पनि बुझ्दै जानुभयो । ‘ब्युटिसियन भनेका श्रीमानले छाडेका, बिग्रेका महिलाले मात्र गर्ने अमार्यादित पेशा होइन रहेछ, यो त आजको समाजमा नभै नहुने चिज पो रहेछ भन्नुहुन्छ आजकल त उहाँले ।’ ‘ उनले भनिन् ।

दुईवर्षको ब्युटिसियन ट्रेनिङ लिएकी कमलाले गुरुआमा पुनम लामिछानेबाट सिप मात्र नभै जीवनका धेरै कुरा सिकेको बताइन् । ‘बच्चा सानो छँदा श्रीमान् जागिरको सिलसिलामा कहिले गोरखा त कहिले चरिकोट पुग्नु हुन्थ्यो त्यो समयमा आफैंले पार्लर खोल्ने कुरा भएन । तर खाली त बस्न भएन भनेर मनभरि ब्युटिसियनकै सपना बोक्दै ३ वर्षसम्म शिक्षकको जागिर खाएँ । २ वर्ष आर्ट ग्यालरीमा काम गरें । बसेर मात्र आजसम्म खानु परेको छैन । काम गरेरै खाएको छु । मैंले बसेर खाएको भनेकै दुई बच्चा जन्मिएर सुत्केरी हुँदा हो ।’ 

kamala-niraulaयसरी आफ्ना घतलाग्दा र पौरखी कुरा सुनाइरहँदा, अनि पार्लर चाहिं कहिले देखि खोल्नु भयो नि ? भनेर सोध्दा मैंले २०६३ सालदेखि पिसफूललाई सार्वजनिक गरेकी हुँ । टिनएजरदेखि बुढ्यौलीसम्मका महिलाहरू सौन्दर्यसम्बन्धी समस्या समाधानका लागि आफ्नो ब्युटिपार्लरमा आउने दाबी गर्छिन् । उनका श्रीमान आर्मीको जागिरे हुन् भने उनले यतिबेला बहादुरी बुहारीको पद पाएकी छिन् परिवारमा । ‘यदि ब्यूटिसियन नभएको भए बुढो हलो जोत्ने म डल्ला फोर्ने काममा हुन्थ्यौं’, उनले ठट्टा गर्दै भनिन् ‘अहिले सुखमय जिन्दगी जीउन पाइएको छ । काठमाडौंमा घर बनाउन सफल भएका छौं ।’ अब केही वर्षमै ४ कोठा लिएर ब्यूटिपार्लरलाई स्पाको रुप दिने योजना उनीसँग रहेको छ ।

कमलालाई गीतसंगीत औधी मन पर्छ । उनी पार्लरमा गीत सुन्दै काम गर्छिन् । उनलाई आधुनिक गीतहरुले मन छुने गर्छ । सबैभन्दा बढी अन्जु पन्तको स्वरका गीतहरु र आनन्द कार्कीको स्वरमा रहेको सम्झी सम्झी रुनु भन्दा, तिमीलाई मन पराएँ जस्ता गीत बढी सुन्ने गर्छिन् । उनले हाँस्दै भनिन्– गायक आनन्द कार्कीसँग डेट जान मन लाग्छ । गीत पनि उहाँकै मन पर्छ भने डेट जान के नै हुन्छ होला र ! गीतसंगीतबिना मानिसको जिन्दगी अधुरो हुन्छ जस्तो लाग्छ कमलालाई ।

-सविता पोखरेल/म्यूजिक खबर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु