काठमाडौं । ‘मिर्मिरेमा भाले बासेको…’, ‘छिनको छिनैमा…’, ‘यो मायाको संसार विचित्र…’, ‘ससुरालीमा…’, ‘खैरेनीमा गेट…’, ‘हङकङ आइडीले…’, ‘फूलमा भमरा…’, ‘वनको काफल वनको चरीलाई…’, ‘जम्मूकास्मिरमा…’, ‘भरिया दाइले बिसाउने भारी…’, ‘…माया बढ्यो झन’ जस्ता चर्चित गीतले यसका गायक गायिकालाई चर्चाको शिखरमा पु¥यायो । जसबाट बद्री पंगेनी, सिर्जना बिरही थापा, मिलन लामा जस्ता गायक–गायिका निकै हिट भए । यी त एउटा उदाहरण मात्र हुन् तर लोकसंगीतमा लागेका धेरै गायक गायिकाहरुसँगको सहकार्य गरेका भए पनि आफू भने सधैं ओझेलमा परेका पात्र हुन् जुजु गुरुङ । उनी चुपचाप साधनामा तल्लीन छन् । न प्रचार खोज्छन्, न कसैसँग गुनासो नै राख्छन् । दिन रात गीतका भाका र लयलाई सिँगारेर अझ सुन्दर बनाउने प्रयासमा रहन्छन् संगीत संयोजक जुजु गुरुङ ।
मूलधारको संगीत साधनामा दुई दशकभन्दा लामो समयदेखि सक्रिय यी पात्र जुजु गुरुङ धेरैका लागि नौला पनि लाग्न सक्छन् । उनको संगीत संयोजनबाट कति चलेकाले नै उनलाई बिर्सिसकेको अवस्था छ । गीत–सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा धेरै व्यक्ति ’सेलिब्रिटी’ बन्छन् । सार्वजनिक जीवनमा छाउँछन्, चर्चा बटुल्छन् । त्यस्ता ’सेलिब्रिटी’ को नाम घर घरमा उच्चारण गरिन्छन् । तर, त्यही गीतसङ्गीतको चमकधमकपूर्ण दुनियाँमा यस्ता गुमनाम व्यक्ति पनि हुन्छन्, जसको भूमिका ठूलो भएर पनि चर्चा चर्चा हुँदैन । एउटा सङ्गीत संयोजक जसले गीतको ’मुड’ सुहाउँदो सङ्गीत संयोजन गर्ने र उपयुक्त ‘म्युजिक पिस’ हरूलाई जोडेर गीतलाई सिंगारपटार गर्ने काम गर्छ । उसले गीतमा सङ्गीतिक फूलबुट्टा भर्छ । गीतमा सङ्गीतको मिठास थपेर श्रुतिमधुर बनाउँछ । यतिमात्र होइन, उसले गायकगायिकालाई मार्गनिर्देश गरेर गीतमा मधुरभाव थप्न सहयोग गर्छ । तर, ऊ आफैं सधैँभरि छायाँमा पर्छ । त्यही पर्दापछाडिको नायक हो जुजु गुरुङ ।
दोस्रो विश्वयुद्ध लडेका लाहुरे कुलबहादुर गुरुङका छोरा हुन् जुजु गुरुङ । सानै उमेरदेखि मादल, खैंजडी, सारङ्गीजस्ता वाद्ययन्त्रका साथी बनेका थिए उनी । गाउँघरकालाई जम्मा गरेर नाचगान गराउने उनको बुबाको बानीले जुजुलाई थातथलोमै सांगीतिक वातावरण दियो । उनको घर नै सांगीतिक वातावरणमा थियो, उनको भूगोल लमजुङ पनि लोकसंगीतको बाहुल्यता बोकेको क्षेत्र थियो । बाल्यकालमै मादल, माउथ हार्माेनियम, खैंजडीजस्ता बाजा बजाउन जानेका जुजु १४–१५ वर्षकै उमेरमा सारंगी बजाउन पोख्त भइसकेका थिए । स्कुलमा हुने सांगीतिक कार्यक्रममा सबैलाई जित्दार बाजा बजाउँदा पाएको वाहवाहीले जुजुमा यही क्षेत्रमा केही गरेर देखाउने हुटहुटी जगाइदियो ।
थातथलो लमजुङको भोटेओडार छाडेर कलेज पढ्न राजधानी छिरेपछि सफल म्युजिक एरेन्जरतर्फको जुजुको यात्रा सुरु भएको हो । २०४६ सालमा एसएलसी पास गरेपछि केही समय गाउँको प्राथमिक स्कुलमा पढाए । तर, त्यो पेशामा उनी रमाउन सकेनन् । कलेज पढ्ने निहुँमा राजधानी हान्निएका उनले काठमाडौंमा आफ्नो रुचि अनुसारका सांगीतिक सहकार्य गर्ने साथीहरु पाए ।
राजधानी छिरेको केही समयमै मयुर, चौंरी, शेर्पा जस्ता परम्परागत नृत्य प्रस्तुत गर्दै हिँड्ने सांस्कृतिक टोलीमा मिसिने अवसर पाएपछि वाद्यवादनमा आफूलाई अझ निखार्ने मौका मिलेको उनले बताए । २०४८ सालतिर एकजना साथीले उनलाई कुनै राजनीतिक दलको सांस्कृतिक विभाग अन्तर्गतको एउटा सांगीतिक टोलीसँग चिनजान गराइदिए । उक्त टोलीसँगको चिनजान जुजुका लागि बिरानो सहरमा बाँच्न सहज भयो र सांगीतिक करिअरलाई पनि साथ मिल्यो, उनले भने ।
लमजुङबाट राजधानी छिरेपछि धेरै कालखण्ड फेरिए तर जुजुको संगीतकर्म फेरिएको थिएन बरु साधनामा उनी अझै निखारता ल्याउने काममा थिए । सांगीतिक कार्यक्रममा हिँड्ने क्रममै २०५४ सालतिर गायक तथा संगीतकार नारायण रायमाझीसँग भेट भयो । रायमाझीसँगको भेट उनको लागि जीवनको ‘टर्निङ प्वाइन्ट’ साबित भयो । रायमाझीले जुजुलाई आफ्नै म्युजिक कम्पनी रिमा रेकर्डिङमा वाद्यवादक बनाए । रायमाझीको योगदानलाई कहिल्यै नभुल्ने बताउँछन् जुजु ।
२०५० को दशकको उत्तराद्र्धतिर आइपुग्दा जुजु वाद्यवादन छाडेर संगीत संयोजनतर्फ मोडिए । यसमा सुरुदेखि नै सफलता मिल्यो । उनलाई खोज्नेको ताँती बढ्यो । काम भ्याइनभ्याई भयो, गीतसंगीतको दुनियाँमा ख्याति बढ्दै गयो । पुराना दिन सम्झिँदै जुजुले भने– एक दिनमा ५–६ वटासम्म अडियो गीतको संगीत संयोजन गरेँ । ‘ससुरालीमा…’, ‘खैरेनीमा गेट…’, ‘हङकङ आइडीले…’, ‘फूलमा भमरा…’, ‘वनको काफलवनको चरीलाई…’, ‘मिर्मिरेमा भाले बासेको…’, ‘छिनको छिनैमा…’ जस्ता असंख्य चर्चित गीतको संगीत संयोजन उनैले गरेका हुन् । यसबीचमा कतिवटा गीतमा संगीत संयोजन गरे, त्यसको रेकर्ड उनीसँगै छैन । तर २० हजारभन्दा बढी होला अनुमान गर्दै उनले भने संख्या ठूलो कुरा भएन, सफलता ठूलो कुरा हो जस्तो लाग्यो त्यसैले गन्ती गर्नेतिर मेरो ध्यान नै गएन ।
जुजुले संगीत संयोजन गरेका गीत गाएर धेरै गायक–गायिकाले चर्चा र वाहवाही बटुलेका छन् र, त लोकप्रियताको शिखरमा पुगेका गायक–गायिका पनि जुजुप्रति श्रद्धाले निहुरिन्छन् । मिलन लामा, बद्री पंगेनी, राजु परियार, बिमाकुमारी दुरा लगायतले गाएका अधिकांश हिट नम्बरका गीतमा जुजुले नै संगीत संयोजन गरेका थिए । जसले गर्दा उनीहरु जुजुप्रति श्रद्धाको भावले निहुरिन्छन् ।
सङ्गीत संयोजकबाहेक उनको अर्को परिचय पनि छ । उनी गायक पनि हुन् । ‘काठेपुलैमा…’, ‘धादिङ सल्यानटार…’, ‘दुवाली थुनेको…’ आदि उनले स्वर दिएका गीत हुन् । उनले इन्दिरा कलानिधि विद्यालयबाट सङ्गीतसम्बन्धी शिक्षा लिएका छन् । सङ्गीत अनुरागी र सङ्गीतिक वृत्तमा रहेकाहरूका दृष्टिमा जुजु गहिरो सङ्गीत चेत भएका प्रतिभाशाली व्यक्ति हुन् । तर, उनी आफैं भने आफूलाई कम आँक्छन् । सङ्गीतको अथाह दुनियाँमा आफूले धेरै सिक्न बाँकी भएको बताउँछन् । शिलाबहादुर मोक्तान, पूर्ण गुरुङ, भूपेन्द्र रायमाझी, सचिन सिंह, जुगल डंगोललाई प्रेरणा स्रोत मान्छन् उनी । गीत–संगीत क्षेत्रका समकालीनको नजरमा जुजु गहिरो संगीत चेत भएका प्रतिभाशाली व्यक्तित्व हुन् । तर, उनी आफूलाई त्यति ठूलो विशेषण लगाउनु नपर्ने ठान्छन् । ‘म कर्ममा विश्वास गर्छु, गीत संगीतको विशाल संसारमा मैले सिक्नुपर्ने कुरा धेरै छ,’ गफिने क्रममा उनले भने ।
उनी चुपचाप आफ्नो कर्मक्षेत्रमा होम्मिन रुचाउने कर्मजीवी हुन् । उनी विज्ञापन गर्न रुचाउँदैनन् । आफूले अङ्गालेको पेशाका कारण पनि उनी ओझेलमा छन् । उनको स्वाभाव पनि हाइफाइ जीवनभन्दा परै रहन मन पराउने किसिमको छ । अभिनन्दन, सम्मान, पुरस्कार आदि उनलाई झर्को लाग्ने विषय हुन् । समय समयमा उनको नाममा पनि पुरस्कार र सम्मान उदघोष भइरन्छन् । उनी यस्ता कार्यक्रमहरू सकेसम्म छल्न खोज्छन् । उनी धेरैजसो पुरस्कार वितरण समारोहमा उपस्थित हुँदैनन् । आफ्नो घोषणा गरिएको पुरस्कारको थुप्रो उठाउनै बाँकी छ । उनी भने सब कुरा छाडेर सङ्गीत साधनामा एकोहोरो तल्लीन रहन मन पराउँछन् । पेशा र स्वाभाव दुवैले उनी चमकधमकपूर्ण दुनियाँबाट पर छन् । आफ्नो कर्ममा नै विश्वास गर्ने उनी प्रचारवाजीबाट टाढा नै रहन चाहन्छन् ।