राष्ट्र कवि माधवप्रसाद घिमिरेको निधन

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७७, मंगलवार

काठमाडौं : राष्ट्र कवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ करिब ६ बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी केही दिनयता घरमै उपचार गरिरहेका थिए ।

नेपाल साहित्यमा राष्ट्रकविको उपमा पाउनुभएको व्यक्तित्व हुनुहुन्छ माधव प्रसाद घिमिरे । आजभन्दा १०१ वर्ष अघि गण्डकी अञ्चलको लमजुङ जिल्लाको पुस्तुनमा जन्मिनुभएको घिमिरेले नेपाली साहित्यको विविध पक्षलाई उजागर गर्न उल्लेख्य भूमिका खुल्नुभएको छ । राष्ट्रकवि घिमिरे त्यसै राष्ट्रकवि हुनुभएको होइन । भाषा साहित्यको विकासमा उहाँले दिएको योगदान नेपाली साहित्यका लागि र हामी समग्र नेपालका लागि उल्लेखनिय छ । भाषाको मिठास एवम् जनजनमा भिज्न सक्ने सरल भाषामा लेखिएकोले उहाँको साहित्य एवम् साहित्यिक कृतिहरु लोकप्रिय भएका हुन् । सरल मिठासयुक्त, स्पष्ट लेखनका कारण उहाँका कृतिहरु हामीमाझ चर्चित बन्न सफल भएका हुन् ।
राष्ट्रकवि घिमिरेले हामीलाई स्तरीय साहित्यिक कृति प्रदान गर्नुभएको त छ नै उहाँका गीतहरु पनि उत्तिकै लोकप्रिय छन् । गौरी, मालती मंगले, हिमाल पारी हिमाल वारी, अस्वस्थामा, राजेश्वरी एवं शकुन्तला आदि उहाँका चर्चित कृतिहरु हो । साना–साना नानीहरुदेखि बृद्धबृद्धासम्म माधव घिमिरे चर्चित हुनुहुन्छ । राष्ट्रकवि घिमिरेले सरल भाषामा भावना पोख्ने भएकै कारण साना बालकदेखि बृद्धसम्मले उहाँको साहित्य जनजिब्रोमा टिप्न सकेका हुन् । जसका कारण घिमिरे सबैका सामु लोकप्रिय हुनुहुन्छ ।

घिमिरेले लेखेको सबै कृतिहरु चर्चामा छन् । शोककाव्यको रुपमा आएको कृति गौरी उहाँको अत्यन्तै चर्चित कृति हो । आफ्नी अर्धाङ्गीनी ‘गौरी’ को निधनबाट जसरी राष्ट्रकवि भावुक हुनुभयो त्यसैगरी सो कृति पढ्ने हरेक पाठक आँखामा टिलपिल आँसु बोकेर भावनात्मक बन्न पुग्नुहुन्छ । उहाँले लेखेको गीतिनाटक मालती मंगलेका गीतहरु मात्रै आफंैमा चर्चित बन्न पुगेका छैनन् कि नाटक पनि औधी रुचाइएको छ । साथै रङ्गमञ्चमा पनि नाटकले रेकर्ड राख्दै प्रदर्शन भएको थियो ।
राष्ट्रिय भावनाका साहित्यिक मोहकताका, प्रेममय अभिव्यक्तिका, भावनाको अतिरञ्जनमा उहाँका गीत पाइन्छन् । प्रेममय मिठास त भए नै आङै नै सिरिङ्ग पार्ने राष्ट्रिय बोधका गीत घिमिरेको पर्यावाची हुन् । राष्ट्रकविका नेपाली हामी रहँुला कहाँ नेपालै नरहे, गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, फूलको थुंगा बगेर गयो गंगाको पानीमा, आजै र राति के देखेँ सपनी, सारङ्गी त रेटे पनि जस्ता सयौं गीत चर्चामा छन् ।
अग्रणी पुस्ताका नातीकाजी, शिवशंकर, अम्बर गुरुङदेखि अहिलेका सङ्गीतकार सन्तोष श्रेष्ठसम्म पनि उहाँको गीतलाई सङ्गीत दिलाउने सर्जक उहाँको रोजाइमा पर्दैमा आएका छन् । नारायण गोपालदेखि अहिलेका युवा पुस्तासम्मले उहाँको गीतमा मिठासपूर्ण स्वर भर्न पाएका पनि छन् ।
राष्ट्रकवि मावधप्रसाद घिमिरेको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको छ । म्यूजिक खबर परिवार राष्ट्रकवि माधव प्रसाद घिमिरेप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु