एक लाख पुरस्कारको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने

म्यूजिक खबर
प्रकाशित: १९ आश्विन २०७७, सोमबार

काठमाडौं । गैरआवासीय नेपाली संघको भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का पदाधिकारीहरूको संयुक्त अनलाइन बैठकले आउँदो श्री पञ्चमीका दिन उन्नाइस वर्ष मुनिका गैरआवासीय नेपाली युवाहरूबिच “अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता“ संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।
विजयी प्रथम हुने युवा कविलाई रु एक लाख र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने त्यसै गरि द्वितीय हुनेलाई पचास हजार, तृतीयलाई पच्चीसहजार र अङ्ग्रेजी विधा तर्फका उत्कृष्ट एक कविलाई पच्चीस हजार र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्वज्ञ वाग्ले (अमेरिका) र सदस्यहरू महेश्वर पन्त (अमेरिका), तीर्थ सङ्गम राई (कतार), डा. केशव शर्मा (अस्ट्रेलिया), विमला निरौला (अमेरिका), गणेश खडका (अफ्रिका), गिरिजा गैह्रे (जापान), विष्णुमाया विभू (नर्वे) र महता घिमिरे (अस्ट्रेलिया) रहेका छन् ।
त्यसैगरी समितिको सल्लाहकारमा प्रा. डा. हेमनाथ पौडेल (नेपाल प्रज्ञा प्रतिष्ठान), गैरआवासीय नेपाली संघका भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्य केन्द्रीय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहेका छन् ।
बैठकमा अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, सचिव विमला निरौला, कोषाध्यक्ष कृष्ण गिरी, सदस्यहरू निजानन्द मल्ल, डा. रेणुका सोलुलगायतका पदाधिकारीहरू र एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिका अध्यक्ष हिक्मत थापा, उपाध्यक्षहरू महेश्वर पन्त, हरि पौडेल, बेलुकाजी थापा, सदस्य सचिव भगवती बस्नेत लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैठकले नेपाली भाषा र साहित्यको प्रबद्र्धनका लागि आगामी दिनहरूमा संयुक्तरुपमा कार्यक्रमहरू गर्दै लैजाने समेतमा छलफल गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु