संगीतमा स्थापित हुने श्रेय कसलाई दिनुहुन्छ ?
खोजी प्रतिभा सिजन १ लाई नै जान्छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम हेरेर बस्नेहरुले मेरो गायन क्षमतालाई हेरेर आर्थिक सहयोग जुटाइदिनु भयो, दर्शकहरुले सबैतिरबाट मेरो क्षमतालाई मन पराइदिनु भयो, जुरीको गाइडलाइनअनुसार मैले सिक्दै गएँ । सायद मेरै लागि खोजी प्रतिभा भएको थियो भन्ने लागेको छ । एसियन पेन्टस् र दिनेश डिसी नभइदिएको भए खोजी प्रतिभा हुन्थेन र खोजी प्रतिभा नभएको भए सायद म गायनमा हुने थिइनँ । जुन कार्यक्रम सिजन २ बाट बन्द पनि भयो, दुर्गा परियारलाई गायनमा ल्याउनु थियो र नै खोजी प्रतिभाको आयोजना भएको रहेछ भन्ने लाग्छ ।
त्यतिबेला खोजी प्रतिभाको प्रतिस्पर्धामा जित्छु जस्तो लागेको थियो ?
खोजी प्रतिभामा म भाग लिन आएँ । त्यहाँ पश्चिमबाट भन्दा पूर्वबाट आउने धेरै थिए । १६ सय प्रतियोगीमा म पश्चिमबाट भाग लिइरहेको थिएँ । पूर्वेलीहरुबाटै कसैले जित्छन् होला भन्ने लाग्थ्यो किनकी ६० भोट र ४० जुरीको निर्णय हुने भएकाले पनि मेरो भोट कम आउँछ भन्ने लागेको थियो । तर जुरीहरुले मेरो स्वरलाई मन पराइदिनुभयो र म जित्न सफल भएँ ।
जितेपछिको अनुभव कस्तो रह्यो ?
दर्शकहरुको यति धेरै माया पाएँ कि म पत्याउनै नसक्ने भएँ । पूर्वबाट भाग लिन आउनेहरुका आफन्तजन पछाडि हुटिङ लाइरहेका थिएँ तर मेरो तर्फबाट मेरो श्रीमान मुन्ना गुरुङ र बहिनी मात्र आएका थिए, आफन्तजन कोही थिएनन् । जित्छु भन्ने लागेकै थिएन तर पछि जुरीहरुले मेरो क्षमताको मूल्याङ्कन गरिदिनु भयो त्यसपछि मेरो खुशीको आँसु झ¥यो । मेरा लागि ठूलो चुनौति थियो त्यो पार गर्दै गर्दा मैले नसोचेको उपलब्धि हात परेको थिएँ । किनकी म सामान्य एउटा परिवारबाट खोजी प्रतिभामा भाग लिनु चानचुने कुरा थिएन । दिनभरको कमाइले छाक टार्ने मेरो परिवारले कल्पना गर्न नसक्ने कुरा थियो तर जितपछि एउटा पश्चिमकै प्रतिनिधित्व गरेँजस्तो लागेको थियो ।
यतिखेर दुर्गा परियार कहाँनेर छ जस्तो लाग्छ ?
मेरो प्रतिभालाई हेरेर धेरैले भन्नुहुन्छ तिम्रो स्थान यो ठाउँमा हुने होइन, खोजी प्रतिभाको लेवल हेर्दा तिमी धेरै माथि जानुपर्ने हो । कतिले भन्ने गर्छन् तिमीलाई त सुरेश अधिकारी र दिनेश डिसीले ल्याएका हुन् उनीहरुले नै काम दिइहाल्छन् नि भनेर पछि हट्छन् । हो, उहाँहरुले मलाई त्यो स्थान पनि दिनुभएको थियो उहाँहरु गीतसंगीत सिर्जनामा कम हुनुहुन्छ । एकातिर मलाई उहाँहरुको गोजीको मान्छे सम्झनु भयो भने अर्कोतिर सरसर गीत जसरी हिट भयो त्यही फ्लेबरको लागि मात्र यो गायिका ठीक छ भन्ने सोचमा धेरै संगीतकर्मी रहनुभयो । स्टेजका लागि उफार्ने गीत नभएका कारणले पनि म पछाडि परेँ कि जस्तो लाग्छ ।
किन यस्तो भयो होला ?
खै मिडियाले दुर्गा परियार चिनेन कि सपोर्ट गरेन थाहै पाइनँ । मिडियासँग नजिक हुने फर्मुला जान्न पाए हुन्थ्यो । एल्बमहरु पनि गरिरहेको छु । दुईवटा एल्बम बजारमा आए, निरन्तर यही क्षेत्रमा क्रियाशील छु । तर स्टेजमा देख्नेले मात्र चिने, रेडियो टेलिभिजनबाट आफू अगाडि हुँदा मात्र बजाउने गर्छन् । मिडिया भन्दा ठूलो गायक गायिकाको लागि कोही हुन सक्दैन । हेर्ने जमाना पनि भएर होला कि म चाप्लुसी गर्ने मान्छे नभएर हो । हामी साधना गर्नेहरुको गीत उफार्ने बन्न नसकेर पनि होला ।
दुर्गा परियार कस्तो गायिका ?
म सबै फ्लेबरको गीत गाउन सक्ने गायिका हुँ । एउटा सरल, अनुशासित, साधना गरिरहेकी गायिका हुँ । लप्पन छप्पन नजानेकी तर संगीत राम्रोसँग बुझेकी गायिका हुँ ।
स्टेजको कार्यक्रममा जान त आयोजक रिझाउनु पर्छ रे नि ?
त्यो त सय प्रतिशत हो जस्तो लाग्छ । मेला महोत्सवमा गएकाहरुलाई हेर्छु, हिजो आएका कुनै साधना नगरेका गायक गायिकाहरु अनि मलाई आउने जाने खर्च भए पुग्छ त्यहाँ गाउनुप¥यो भन्दै आयोजकलाई फोन गरेको भरमा चर्चा बटुलिरहेका हुन्छन् । हुन त मेरा लागि सबै समान हुन् तर वास्तविक रुपमा मेहनत गरेका कलाकारको डिमाण्ड छैन । चाप्लुसी र आयोजकको नजिक हुनेले धेरै पाउँछन् ।
यसको अर्थ बजारले तपाईंको साधनाको मूल्याङ्कन गरेन भन्ने हो ?
खै समय अनुसार म चल्न नसकेको हुँ कि ! बजार हेर्दा लाग्छ सतही संगीतमा रमाइरहेको छ । बाँच्ने गीत भन्दा नाच्ने गीतमा दुनियाँ दौडिरहेको जस्तो लाग्छ । पैसा हुनेको कला भयो कला हुनेको पैसा भएन । साधनाबिना गायक गायिका बन्नेहरुले गर्दा हाम्रो डिमाण्ड नभएको होला ।
नाच्ने गीत कहिले गर्ने त ?
हामी आफू र आफ्नो परिवार बचाउनु पनि छ । आर्थिक अवस्था हेरेर खर्च गर्नुपर्ने छ । अहिलेको गीतसंगीत महङ्गो छ, खर्चपछि त्यसको प्रतिफल शून्य छ । धमकेदार खालको नाच्ने गीत छिट्टै नै गर्ने सोचमा छु ।
यतिबेला कलामा लागेर बाँच्ने अवस्था छैन हो ?
त्यस्तो चाहिँ होइन, आफूमा प्रतिभा हुनुपर्छ, साधना, निरन्तरता हुनुपर्छ बाँच्न सकिन्छ । अहिलेसम्म हामीलाई कलाले बचाइराखेको छ ।
तपाईंको बुझाईमा जीवन के हो ?
जसले जसरी हे¥यो त्यो नै जीवन हो । मेरो कुरा गर्ने हो भने संघर्ष नै जीवन हो । हिजो दुःख थियो आज केही हदसम्म सुखको बाटोतिर लागिएको छ तर संघर्षभित्र नै जीवन रुमलिएको छ ।
गीतसंगीतमा भोलिको अवस्था कस्तो बन्नु पर्ला जस्तो लाग्छ ?
विश्वलाई नै हेर्दै आउनुभयो भने हामीले पनि नेपालमा ग्रेडिङ हुनुपर्छ । भारतमा ग्रेडिङका कारण राम्रा कलाकार उत्पादन भएका छन्, जसले सम्मान पाउन सकेका छन् । तर यहाँ ग्रेडिङ नहुँदा संस्कार हराएको छ, राम्राको सम्मान हुन सकेको छैन । संस्कारबिनाको कूल उचित हुँदैन, यसमा सरकारी क्षेत्रबाट नियमन हुनुपर्छ ।
रोयल्टीका बारेमा तपाईंलाई के थाहा छ ?
एकचोटी बेलायतको रेडियोमा पुगेको थिएँ, त्यतिबेला नेपाली रेडियोहरुमा बजेको गीतको रोयल्टी धेरै जम्मा भएको छ, त्यो कहाँ लगेर दिने भन्ने कुरा गर्नुभएको थियो । त्यतिखेर रोयल्टीको बारेमा नेपालमा पनि मैले सुनेको थिइनँ । तर अहिले नेपालमा पनि रोयल्टीको बारेमा धेरै कुरा भइरहेका छन् । सार्वजनिक रुपमा बजेका गीतबाट पाउनु पर्ने रोयल्टी अब अहिले पाउने अवस्था बन्यो भने पक्कै पनि हामी धनी हुने थियौं । त्यो बेलायतको पैसा यतिखेर माग्दा कस्तो हुन्थ्यो होला जस्तो लागेको छ ।
हिजोको र आजको दुर्गा परियारमा के फरक छ ?
हिजो दुर्गा परियार डोकोमा साग बोकेर बजार जाने, अरुको भाडा माझ्ने एउटा दुःखी थिई तर आजको दुर्गा परियार सम्पूर्ण नेपालकी अनशासित र संगीतलाई माया गर्ने एउटी चेली भएकी छ । हिजो र आज धेरै परिवर्तन भइसकेको छ ।
तपाईंको आइडल को हो ?
म अन्जु पन्तलाई आइडलका रुपमा लिन्छु । मैले खोजी प्रतिभामा भाग लिँदा पनि उहाँको धेरै गीत गाएँ, उहाँजस्तो भर्सटायल सिंगर मैले भेटेको छैन ।
अब आउनेलाई के सुझाव छ ?
जो गीत संगीतमा आउँदै हुनुहुन्छ सबैलाई राम्रो साधना र निरन्तरता दिने गरेर आउनुस् भन्छु । हिजो अरुणा लामा, नारायण गोपाल भनेर आज जसरी भनिएको छ त्यसरी नै तपाईंहरुको पनि नाम लेख्ने गरी आउनुस् ।
म्यूजिक खबर पाक्षिकबाट