मलाई अमेरिका अनि डलरमोहले कहिले पनि छोएन : आनन्द कार्की, गायक

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७२, आईतवार

जस्तो नाम त्यस्तै काम आनन्द कार्की । सोलुखुम्बुको दिङ्ला गाउँमा जन्मिएका गायक आनन्द कार्की नेपाली सांगीतिक आकाशमा एक अब्बल स्तम्भ नै हुन् । हिन्दी गीतका लागि पनि ख्याति कमाएका जादुमयी स्वरका धनी गायक जे गाउँछन् खुलेर गाउँछन् र सबै विधाका गीतमा उतिकै आनन्द महशुस गर्दछन् र प्रशंसा पनि बेजोड पाउँछन् । इण्डियन आर्मीमा जागिरे बुबासँग ६ वर्षको उमेरमा लखनउ छिरेका त्यहीँ नै औपचारिक शिक्षा समेत लिएका हुन् कार्कीले । लखनउमै संगीतको विषारदसम्मको शिक्षा लिएका कार्कीले इन्टरमिडियटसम्मको अध्ययन पनि उतै गरेका हुन् । शास्त्रीय संगीतको शिक्षा लिएँसँगै उनले विभिन्न हिन्दी तथा नेपाली गीतमा स्वर दिन थाले । लखनउको भातखण्डे संगीत महाविद्यालयमा उनले संगीत शिक्षा लिएका हुन् भने मुम्बईमा पनि संगीतको शिक्षा हासिल गरेका उनले आफ्नो गायन कलालाई निखार्दै लगे । ०४२ सालमा नै उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका कार्कीले सोही समयमा नै शक्ति बल्लभको संगीतमा ‘जीवनमा धेरै खोला तर्नु छ’ बोलको गीत पहिलो पटक ल्याएका थिए । सन् १९९९ मा लन्डनमा भएको इन्टरनेशनल सारेगम अन्तरीक्षको उपाधिसमेत हात पारेका कार्कीले विभिन्न देशमा गएर आफ्नो प्रस्तुतिसमेत दिइसकेका छन् । त्यस्तै छिन्नलता पुरस्कार १९९७ र २००९, प्रबल गोर्खा दक्षिण बाहु जस्ता दर्जनौं पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । नेपाली सांगीतिक दुनियाँमा करिब ३ दशक समर्पित भैसकेका कार्कीले करिब ३ हजारभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् । त्यस्तै हालै सम्पन्न हुन गइरहेको म्यूजिक खबर म्यूजिक अवार्डको सर्वोत्कृष्ट गायक सुगम संगीत बिधा तर्फको पाँचभित्र पर्न सफल भएका लोकप्रिय अनि सदाबहार गायक आनन्द कार्कीसँग सविता पोखरेलले गरेको कुराकानी :

आजकाल के मा व्यस्त हुनुहुन्छ ?

म दुई तिनओटा प्रोजेक्ट गरिरहेको छु । एउटा चाहिं मेरो आफ्नै एल्बम ‘देखें जब तिमीलाई’ को रिलीजको तयारीमा छु । अर्को चाहिं प्रकाश भावुक थापा ‘प्रकाशपुञ्ज’को एल्बममा मेरो सोलो गायन छ । गायिकाहरु मिलन अमात्य, इन्दिरा जोशीको साथमा रेकर्डिङ लगायतको काम भइरहेको छ । त्यसपछि फेरि एउटा गजलको प्रोजेक्टमा संगीतकार शिखर सन्तोषको संगीतमा सहकार्य गरिरहेको छु । अर्को बलिउडको प्रोजेक्टमा पनि व्यस्त भइरहेको छु । गीतको भिडियो मेकिङ लगायत अन्य इभेन्ट, तीजको विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदैमा व्यस्त हुनुपरेको छ ।

ananda karki-2

तपाईंका अधिकांश अग्रजदेखि लिएर सहकर्मीहरु स्थापित भइकन पनि अमेरिका पलायन भइसके नि ?

कलाकारलाई मात्र नभै हरेक व्यक्ति विदेशिनु भनेको जीविकोपार्जन सहजका लागि नै हो । यदि आफ्नो कर्म गरेर आफ्नै देशमा बाँच्न सक्ने वातावरण भैदिए कसैलाई पनि विदेशिने रहर हुँदैन थियो । स्थापित कलाकारको हकमा भने, उसको सृजनाको क्रेज हुने तर त्यसको प्रतिफल नपाउने हुँदा स्टारडम जोगाउन नसकेकाले र आफू र आफ्नो परिवार बचाउनकै लागि बाध्य भएर विदेशिनु भएको हो ।

भनेपछि संगीतक्षेत्रमा लागेर बाँच्न सकिंदैन ?

अत्यन्त ठूलो महात्वाकांक्षा नहुने हो भने अहिले बाँच्न मात्र चाहिं सकिन्छ । पहिलेको दाँजोमा अहिले केहि सहज नै छ । विश्वभरि नै नेपालीहरु फैलिएर रहनु भएको हुनाले अवश्य पनि नेपाली संगीत बजार पनि फैलिएको छ । नेपाली संगीतको माग विश्वभरि नै भइरहेको छ । जति ठूलो बजार भयो त्यति नै कलाकारलाई फाइदा हुने भएकाले अहिले संगीत क्षेत्रमा समर्पित भएर बाँच्न सकिन्छ । तर महत्वाकांक्षी हुनु भएन । हाइ स्टान्डरको अपेक्षा गर्नुभएन ।

तपाईंलाई डलरमोहले कहिल्यै पनि छोएन ?

सायद मप्रति महत्वाकांक्षा नभएरै होला मलाई अमेरिका अनि डलरमोहले कहिले पनि छोएन । ठूला ठूला महात्वाकांक्षाले गाँजेको भए म पनि अहिले बाल्टिमोरको कुनै सपिङ सेन्टरमै हुन्थें होला । मलाई नेपालमै संगीतकर्म गरेर आत्म सम्मानका साथ हात मुख जोर्र्न पुगेकै छ । मेरो सबै दैनिकी संगीतकर्मबाट नै टरेको छ । भने मैले किन डलरमोह गर्ने ।

ananda karki-3
संगीत क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

बच्चा देखि नै मेरो रुची गीत गाउनमै थियो । स्कुलमा आयोजित ट्यालेन्ट सो कार्यक्रममा कसैले नाचेर, कसैले गाएर, त कसैले कविता वाचन गरेर आफ्नो प्रतिभा देखाउँदा म पनि गीत गाएर आफ्नो प्रतिभा देखाउने गर्थे । किशोर कुमारको गीत गाउँदा साथीहरु तथा गुरुवर्ग सबैको वाही वाही पाएको थिएँ । यसले मलाई प्रोत्साहन मिल्यो अनि मैले निरन्तर गीत गाउन थालें । यो देखेर दाईले मलाई सिकेर गाउन सुझाव दिनुभयो । पढ्दै बढ्दै जाँदा मैले म्यूजिक पनि सिक्न थालें । प्रोगाममा सहभागी हुँदै गए, अनि १५ वर्षको उमेरमा प्रोगाम लिएर काठमाडौं आएँ । फेरि १७ वर्षको उमेरमा एक महिने प्रोगाममा मैले पनि प्रस्तुति दिएँ । त्यसपछि एभरेस्ट सेराटन होटलमा गजलको लागि भ्याकेन्सी आउट गरेको रहेछ, मैले आवेदन दिएँ त्यसमा म सेलेक्ट भएँछु । एव वर्षको लागि हेरौं के हुन्छ अनि सोचौंला भनेर सुरु गरेको जागिरलाई मैले निरन्तरता दिएँ । आफ्नै देशमा बसेर आफूले जानेको काम गर्न इण्डिया फर्केर जान मन लागेन ।

अहिलेसम्म कतिवटा गीतमा स्वर दिनुभएको छ ?

चलचित्र, भजन, आधुनिक, गजल सबै गरेर तीन हजार भन्दा बढीको संख्यामा स्वर दिएको छु ।

भर्सटायल गायक हुनुहुन्छ कस्ता गीत गाउँदा आनन्द महशुस गर्नुहुन्छ ?

हेर्नुहोस् मेरो चिनारी नै गायक हो । यसर्थ शब्द तथा संगीत राम्रो हुनुपर्छ सबै किसिमका गीत गाउँदा मलाई सहज र आनन्दको अनुभव हुन्छ । सुरुवातमा गजल गाउन केहि असहज हुन्थ्यो तर विस्तारै त्यो पनि रहेन । सबै गीत संगीतमा रमाउन सक्छु म ।

अहिलेका गीत संगीत सदाबहार बन्न नसक्नुको कारण ?

त्यो समयमा पनि मलाई यस्तै प्रश्नहरु आउँथे । अहिले पनि त्यहि प्रश्न नै आउँछन् । यसर्थ श्रोता सँधै यो भन्दा पनि राम्रो गीतको अपेक्षा र प्रतिक्षामा हुन्छन् भने हामी सर्जक त झन् सन्तुष्ट हुने कुरै भएन । यो भन्दा राम्रो कहिले गरिएला भनेर नै लागिपरिरहेका हुन्छौं । एक्स्ट्रा केहि दिन नसकेपछि खै त खै त भन्नु कुनै नयाँ कुरा होइन । अनि पहिलेका गीत सुन्न बनाइएका हुन्थे, यसर्थ कर्णप्रिय हुन्थे । अहिलेका गीत सुन्न भन्दा बढी हेर्नका लागि बनाइएका हुन्छन् यसर्थ यहाँ गीत राम्रो भन्दा पनि भिडियो भल्गर बनाउनमा लालयित हुन्छन् । गुन्यु चोलो लाएर राम्रो अभिनय गरेको गीत भन्दा देखाउन मिल्ने भन्दा बढी अंग प्रदर्शन गरेर ६ दिनमा ६ लाख बढीले हेरिएको प्रचार प्रसार गरिन्छ । यस्ता भल्गर गीतहरुले राम्रा सृजनाहरुलाई प्रभाव पारिरहेका छन् । यद्यपी यो सबैमा लागु भने हुँदैन । अहिले पनि राम्रा गीत संगीत भने नभएका होइनन् । पहिलेका भन्दापछि आएका सृजना नै राम्रा छन् । तर यहाँ राम्रा भन्दा पनि अश्लिलतालाई प्राथमिकता दिइन्छ अनि कसरी हुन्छ त अहिलेको गीत सदाबहार ?

यसको जिम्मेवारी कसले लिने त ?

यसको जिम्मेवारी हामी सबै कलाकार तथा पत्रकार साथीहरुले लिने हो । कलाकारले सँधै राम्रो सृजना मात्र प्रस्तुत गरौं अनि पत्रकार साथीहरुले पनि सँधै राम्रो गीत संगीतलाई ठाउँ दिने गरौं । मिडियामा गीत जति बज्यो, त्यति श्रोताले सुन्ने हो, मन पराइने हो, यसर्थ दुई चार पैसाको प्रलोभनमा राम्रा सृजनालाई मारेर विकृति भित्र्याउने गीतलाई प्रोत्साहन नगरौं । सौखिन सर्जकलाई प्रोत्साहन नदिउँ, गीत निकाल्न पैसाले हैन स्वर राम्रो हुनुपर्छ भन्ने बुझाई सबैमा हुनुप¥यो । टेलिभिजन, एफ.एम. रेडियोहरु सयौं छन् सबैलाई गीत चाहिएको छ । अनि कला होस् कि नहोस् सबैलाई कलाकार बन्नुपरेको पनि छ । सबैभन्दा बढी कलाकार भएको देश नै नेपाल भइसकेको छ । अनि यो भिडमा एक्स्ट्रा गर्ने र राम्रो गर्नेलाई प्रोत्साहन दिइएन भने नेपाली संगीत क्षेत्र विकृतिको दलदलमा अझ फस्नेछ । एउटा गायक, गायिका तथा संगीतकारसँग अहिले एकसाथ दशौं प्रोजेक्ट हुन्छ अनि कसरी उसले नयाँ गरोस्, कसरी उसले राम्रोको लागि सोचोस् । उसले त बस् काम सक्नु लाई नै आफ्नो जिम्मेवारी सम्झन्छ । राम्रो नराम्रोको सरोकार नै रहँदैन ।

यो नेम अनि फेमबाट सन्तुष्ट त हुनुहोला नि ?

आनन्द कार्की भनेर सबैले चिन्नुहुन्छ । माया गर्नुहुन्छ । आदर गर्नुहुन्छ । यो अर्थमा साह्रै खुशी छु । हलिउड या बलिउड भैदिएको भए पो हामीले आर्थिक स्तरोन्नतीको अपेक्षा गर्नु । यहाँ त नाम कमाउनु नै गौरवको कुरा हो । हामी कलाकार कलाबाट भरिपूर्ण त कहिले पनि हँदैनौं । प्रत्येक दिन हामी विद्यार्थी नै हुन्छौं ।

हलिउड÷बलिउडको कुरा गर्नुभयो, अनि किन आउनुभयो त बलिउडको ठूलो बजार छाडेर ?

सर्वप्रथम म नेपाली हुँ अनि मात्र कलाकार हुँ भन्ने भावनाले म इण्डियामा बस्न सकिनँ । इण्डियामा प्लेटफर्म बनिसकेको अवस्थामा पनि मलाई आफ्नै देश प्यारो लाग्यो, आफ्नै देशको गीतसंगीतको माया लाग्यो । अनि मैले इण्डिया छाडेर नेपाल रोजें । उता उदिदनारायण झाले भने नेपाल छाडेर इण्डिया रोज्नुभयो । यस्तो परिवेश र अहिलेको देशको स्थिति हेर्दा मैले गलत गरेंछु भन्ने लाग्छ । पछि बुद्धि आएर केहि हुँदैन रहेछ । यसो भन्दैमा गल्ती गरें म सकिएँ, वर्वाद भएँ भन्ने चाहिं होइन । मातृभूमिमा बस्न पाएको छु गाउन पाएको छु ठिकै छ ।

नयाँ आउने पुस्तालाई के सुझाव दिनुहुन्छ ?

यो फिल्डमा आउनलाई कम्तिमा दश घण्टा रियाज गर्नुपर्छ । संगीतमा पागल भएर आउनहोस् । क्रेजी भएर आउनहोस् । सौखिन, भएर देखासिकी गरेर पैसा छँदैछ गरिहालौं न भन्ने उद्धेश्यले नआउनुस् । राम्रो बुझेर संघर्ष गरेर मात्र गायकको स्थायी परिचय पाउन सकिन्छ । यो बुझेर आउनुहोस् । नारायण गोपालको फलो गर्नुहोस्, अन्जु पन्तको फलो गर्नुहोस् । अनि मात्र राम्रो कलाकारको छवी बनाउन सक्नु हुन्छ ।

अहिले विभिन्न नामका अवार्डहरु आयोजना हुने गरेका छन् यसमा तपाईंको कस्तो प्रतिक्रिया छ ?

यस्ता अवार्डहरु आयोजना हुनु भनेको त हामी कलाकारका लागि त दशैं नै हो । यत्रो ठूलो कार्यक्रम आयोजना गर्ने आयोजक टिमलाई त मेरो सांगीतिक सलुट नै छ । हामीले पाउने भनेकै माया र सम्मान हो । यस्तो कार्यक्रम मार्फत सम्मानित हुन पाउनु, अवार्डेड हुन पाउनु यो जति गौरवको कुरा के हुन सक्छ र ?

म्यूजिक खबर म्यूजिक अवार्डको सर्वोत्त्कृष्ट सुगम संगीतको टप फाइभमा पर्नु भएको छ नी ?

हजुर । यसका लागि म आयोजक टिम र जुरी मेम्बरलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै कार्यक्रमको सफलताको लागि पनि शुभकामना दिन चाहन्छु । सर्वोत्कृष्ट पाँचमा परेको छु, म सँगै चार जना गायक हुनुहुन्छ, हामीमध्ये एकजनाले अवार्ड चुम्नेछौं । जसले अवार्ड चुमे पनि मलाई आफैंले जितेको महसुस हुनेछ । जसले पाए पनि हामी पाँचै जित हो भन्ने लाग्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु