नेपाली पाश्र्व गायनमा चर्चाको शिखरमा रहेकी गायिका माण्डवी त्रिपाठी नेपाली सांगीतिक फाँटमा स्थापित नाम हो । लोक गीत गायनबाट सांगीतिक धरातलमा पाइला टेकेकी सुमधुर स्वरकी धनि गायिका त्रिपाठीले लोकपप, आधुनिक, तीज र चलचित्रमा गरि दुईहजार भन्दा बढी गीतमा स्वर दिएर‘भर्सटायल’ गायिकाको छवि बनाइसकेकी छिन् । पछिल्लो समयमा देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरुका लागि रोजाईमा पर्ने गायिकाहरु मध्येकी एक गायिका माण्डवी त्रिपाठीसँग म्यूजिक खबरका लागि सविता पोखरेलले गरेको सांगीतिक कुराकानी ।
सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरो घर परिवारको सांगीतिक वातावरणले नै मलाई यो क्षेत्रमा ल्यायो । मेरो बुबा हारमोनियम बजाउनु हुन्थ्यो, काका मादल बजाउनुहुन्थ्यो । मेरो भाइ राजन पनि गाउने गथ्र्यो । गाउनमा मेरो रुचि थियो । गायिका बन्ने सोख थियो । हामी गाउँ गाउँ र स्कुलमा पनि गाउँदै हिंड्थ्यौं । सबैले अफर गर्दै गाउन लगाउँदा प्रोत्साहन मिल्थ्यो ।
गायिका नै बन्ने उद्देश्यले काठमाडौंसम्मको यात्रा कसरी तय भयो ?
हामी गाउँमा गाउँदै हिंड्दा तार्कुघाट स्कुलमा भएको लक्ष्मी जयन्तीमा मैले गीत गाउँदै थिएँ । त्यहाँ विशेष अतिथिका रुपमा यज्ञनिधि दाहाल जानुभएको थियो । उहाँले मेरो भाइ र मलाई रेडियो नेपालमा लगेर साहित्य संसार कार्यक्रममा अवसर दिनुभयोे । म त्यतिबेला कक्षा ६ मा पढ्थें । हामीले कुन मन्दिरमा जान्छौ यात्री बोलको गीत गाएका थियौं लक्ष्मी जयन्तीमा त्यही गीत हारमोनियम बजाएर रेडियो नेपालको साहित्य संसार कार्यक्रममा गायौं । त्यसले मेरो काठमाडौं यात्राको सांगीतिक करिअरलाई ठूलो हौसला प्रदान ग¥यो ।
तपाईं त लोक क्षेत्रबाट आउनुभएको अहिले चर्चित बन्दै गएपछि लोक क्षेत्रलाई माया मार्नुभएको हो ?
होइन, लोक क्षेत्रलाई कदापि माया मार्नै सक्दिनँ । म लोक क्षेत्रमै स्थापित भएको कलाकार हुँ । सुरुमा त म आधुनिक गीत प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गरेर गायनमा आएको हुँ । तैपनि लोकगायनले नै मलाई पहिला चिनाएको हो, मेरो मदरटङ नै लोक गीत हो । अहिले म पाश्र्व गायनतर्फ बढी लागें, आधुनिक गीततर्फ लागें तर लोक गाउन भने छाडेको छैन ।
तपाईं महंगो भएर हो की ?
त्यस्तो पनि होइन, म त्यस्तो महंगो पनि होइन जस्तो लाग्छ । आधुनिक, चलचित्रतर्फ म गाउँदै गर्दा त्यस्तो सोच्नुभएको हो । म जुन फ्लेबरको गीत पनि गाउँछु ।
अहिलेसम्म कतिवटा गीत गाउनुभयो ?
अहिलेसम्म मैले करिब दुई हजारको हाराहारीमा गाइसकेको छु ।
आफूले गाएको गीतमा सबैभन्दा बढी मन परेको गीत ?
त्यस्तो यही भन्ने छैन । मलाई सबै गीत नै मन पर्छ । कोही चले होलान् कोही चलेनन् तर गायकीमा मैले सबै गीतलाई समान रुपमै लिन्छु ।
तपाईंलाई चिनाउने गीत कुन हो ?
धेरै छन् चिनाउने गीत त । ढल्क्यो ढल्क्यो, सिम्पल सिम्पल, मात लाग्यो, बारुले कम्मर लगायत दर्जनौं गीत छन् । जसले मेरो करिअरलाई नै स्थापित गराएको छ ।
गायन क्षेत्रबाट कति कमाउनुभयो ?
मैले धेरै कमाएँ । पहिला दर्शक स्रोता सबैभन्दा धेरै कमाएको छु त्यो नै मेरो ठूलो धन हो । आर्थिक रुपमा भन्नुहुन्छ भने मलाई खान लाउन र पारिवारिक रुपमा सजिलै चल्न पुगेको छ । सन्तुष्ट नै छु ।
पारिश्रमिक चित्त नबुझेर गाउन अस्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न ?
त्यस्तो रेकर्ड कहिँ पनि छैन । स्टुडियोमा पुगेर गाउन बोलाएपछि गाइसकेपछि गाएर नै आएको छु । मेरो रेट कुरा नमिल्ने कुरा पनि छैन । आफ्नै स्वास्थ्य स्थितिले गाउन नसके मात्र त्यस्तो होला तर सबैसँग पारिश्रमिक भनेजति नै पाइरहेको छु ।
वैवाहिक जीवन कस्तो चल्दैछ ?
राम्रोसँग चल्दैछ । आमा हुने सौभाग्य पाएको छु । बाबु छ एउटा । बच्च भएपछि गाह्रो त हुन्छ नै तर जिन्दगीमा बच्चा हुनुको रमाइलो अर्कै हुँदो रहेछ । श्रीमानबाट पनि मैले राम्रो सहयोग पाएको छु । उहाँ आफैंमा बुझेको संगीतकार हुनुहुन्छ ।
विहेपछि गीत गाउने अवसर कम पाइन्छ भनिन्छ नि ?
खै मलाई त त्यस्तो लाग्दैन । मेरा धेरै गीतहरु विहे पछि नै गाएको हुँ । हिट गीतको लिस्ट हेर्ने हो भने विहेपछिकै बढी चलेका गीतहरु हुन् । अहिलेसम्म निरन्तर गाइरहन पाएको छु ।
गायिकाले त संगीतकार रिझाउनु पर्छ रे नि ?
म्यूजिक इन्डस्ट्रिजमा धेरै खालको रिझाउने तरिका हुन्छ रे । मेरोमा त त्यस्तो कहिल्यै पनि भएन । विहे अघि पनि भएन र विहेपछि कोही छैन । मेरो नेचर नै कसैलाई रिझाएर काम पाउँछु भन्ने छैन ।
तपाईंलाई मन पर्ने संगीतकार ?
मेरो मन पर्ने संगीतकार गोपाल योञ्जन हो । त्यसपछि शम्भूजित बास्कोटा मलाई मनपर्ने संगीतकारका रुपमा लिन्छु । नयाँ पुस्तामा धेरै संगीतकार हुनुहुन्छ, सबैको संगीत उत्तिकै राम्रा छन् । यही भन्ने लाग्दैन ।
तपाईंलाई मन पर्ने गायिका ?
मलाई मन गायिका अन्जु पन्त हो ।
तपाईं कसलाई आफ्नो प्रतिस्पर्धी ठान्नुहुन्छ ?
मेरो प्रतिस्पर्धी त पहिला म आफैं हुँ । त्यसपछि मैले सबैलाई प्रतिस्पर्धी गायिका नै मान्ने गरेको छु । मेरो समकालिन हुन् या नयाँ आउने गायिकाहरु उनीहरुसँग बजारमा प्रतिस्पर्धा गरिरहेकै छु ।
गीतसंगीतबाटै जीवन चलेको छ त ?
अहिलेसम्म चलेकै छ । गीतसंगीतबाट राम्रै कमाइ भएको छ जसले घर परिवार चलाउन सकेको छु । मेरो मन्टेश्वरी स्कुल पनि छ त्यसबाट पनि मेरो घरखर्चलाई सहयोग पुगेकै छ । सन्तुष्ट नै छु भन्नुप¥यो ।
साइड विजनेश भएन भने संगीतबाट बाँच्न सकिँदैन भन्ने सोच हो की ?
होइन, त्यस्तो लाग्दैन । नेपालको म्यूजिक इन्डस्ट्रिजमा चलेका सीमित कलाकारले मात्र संगीतबाट जीवन गुजारा गरेका छन् भने अन्यको अवस्था साइड बिजनेशमै चलेको छ । तर मैले संगीतबाट नचलेर यो विजनेश गरेको होइन । हामी दिदीबहिनीहरु मिलेर १० वर्षअघिदेखि नै बाल संसार मन्टेश्वरी चलाउँदै आएका हौं । साइड विजनेश हुँदा धेरै सुरक्षित भइन्छ ।
कुन फ्लेवरको गीत मन पर्छ ?
फ्लेवर भन्दा पनि गीतसंगीतका सबै कुरा मिलेको गीत भयो भने मन पर्छ । लोक होस् या आधुनिक, पप होस् या चलचित्र सबै उस्तै लाग्छ ।
अविष्मरणीय क्षण ?
विहेपछि हेटौंडा प्रोग्राममा जान लागेका थियौं । बाइकमा गएका थियौं बेलुका भएको थियो । थानकोटमा पुगेका थियौं यति ठूलो पानी प¥यो, रुझियो । विपिनजी बाइक चलाउँदै हुनुहुन्थ्यो, भर्खर विहे भएको थियो, म सम्झिँदै रुँदै पछाडि गएको दिन कहिल्यै विर्सन सक्दिनँ ।
लोकगीतबाट आउनुभएको गायिका, लोकगीतमा अहिले विकृति आयो भनिन्छ नि ?
एउटा घरको एउटा छोरा बिग्रियो भनेर सबै बिग्रन खोज्नुहुन्न । बुझ्ने धेरैजना हुनुहुन्छ, धेरै संघसंस्था छन् पक्कै पनि कुनै दिन मौलिकतातर्फ फर्कनेछ ।
नयाँ आउने प्रतिभालाई के भन्नुहुन्छ ?
सिकेर आउनुस्, बुझेर आउनुस् । भोलिको यो संगीत उद्योगले आशा गरेको गायक, गायिका बनेर आउनुस् । सबैले वाहीवाही गर्ने अवस्था सिर्जना होस् ।
-म्यूजिक खबर पाक्षिकबाट