अनलाईन जुवाको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति

म्यूजिक खबर
प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

काठमाडौं । अनलाइन बेटिङ अर्थात् अनलाईन जुवाको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका चर्चित ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई अदालतमा उपस्थित गराएकामा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार कलाकारहरु राजु पौडेल ‘राजु मास्टर’, मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, बेगम नेपाली ‘भटभटे माइला’, पवन खतिवडा ‘म्याकुरी’ र सरोज घिमिरेलाई पक्राउ गरेको हो । यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

उनीहरुले बेटिङलाई प्रमोशन गरेको आरोप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ । पक्राउ पछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाही प्रकिया अघि बढाउन पठाएपछि अदालतमा उपिस्थित गराइएको हो । प्रहरीले वानएक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको अनुसन्धानबाट खुल्न आएको बताएको छ ।

उपत्यका अपराध अनुसन्धानका अनुसार -अनुसन्धानको लागि म्याद थपको तयारी भइरहेको र थप आधा दर्जन कलाकार अनुसन्धानको घेरामा रहेका छन् ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा ९ख०मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु