ग्ल्यामर बिना चलचित्र चल्दैन : शुभेच्छा थापा, अभिनेत्री

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७१, शनिबार

मिस नेपाल कस्तो चलचित्र हो ?

एउटा पारिवारिक चलचित्र हो । सामाजिक कथावस्तुमा निर्माण गरिएको चलचित्र हो । यस चलचित्रमा मिस नेपालको नाम जसरी लिइएको छ, महिलाको संघर्षलाई पनि त्यसरी नै उतारिएको छ ।
पारिवारिक चलचित्र भन्नुहुन्छ, तपाईको फोटोसुटलाई हेर्ने हो भने त त्यो देखिँदैन नि ?
चलचित्र विशुद्ध पारिवारिक छ । म पनि एउटा नारी हुँ, मेरो पनि समाज छ, मेरो पनि परिवार छ भने मैले किन त्यस्तो नकारात्मक सन्देश दिने चलचित्र बनाउँछु र ? फोटो जसरी मैले खिंचे त्यो हिडन ट्रेजरलाई साइजमा ल्याउनका लागि नाटक मात्रै गरेको हुँ ।
माछाले वक्षस्थल ढाक्दैमा हिडन ट्रेजरलाई साइजमा ल्याउनुभयो त ?
मैले फोटोसुट गरेर मिडियामा आएपछि हिडन ट्रेजरले बाध्य भएर सहमतिमा आउनुपर्ने अवस्था सिर्जना भयो । मलाई मिस नेपाल टाइटल राखेको भन्दै त्यो हटाउनका लागि फोटबाट धम्की आउने, फेसबुकबाट टचर दिने काम मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरबाट भइरहेको थियो । त्यो फोटोसुटले मिस नेपाल भनेको यस्तो पनि गर्नुपर्ने रहेछ भन्ने चर्चा हुन थालेपछि उहाँहरु सहमतिमा आउनु भयो ।

shuvechha
मिस नेपाल त निर्माण भएदेखि नै विवादै विवादमा देखिन्छ नि ?
मिस नेपाल चलचित्रको टाइटलमा धेरै विवाद भयो । मिस नेपाल आयोजना गर्ने हिडन एण्ड ट्रेजरले यसलाई विवादमा तानेको मात्रै हो । बाहिर जसरी हल्ला भयो त्यो चलचित्रभित्र छैन तर चलचित्रलाई हेरेपछि मिस नेपालका आयोजकहरुले सामाजिक चलचित्र भनेर भनिसक्नुभएको छ ।
आजभोलि चलचित्र ग्ल्यामर र भल्गर बन्दै गए नि ?
चलचित्र भनेकै ग्ल्यामर क्षेत्र हो त्यसमा कुनै चिन्ता लिनु पर्दैन । ग्ल्यामर बिना चलचित्र चल्दैन पनि । सामान्य कथावस्तु भए पनि ग्ल्यामर बिना चलचित्र चल्न छाड्यो । तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यस्तै भल्गरको कुरा गर्दा कथाको आवश्यकता भए मात्र त्यो सिन दिनुपर्छ । त्यसलाई प्रस्तुत गर्दा पनि सकेसम्म जानी जानी गरेको जस्तो नभइ कथाअनुसार नै भल्गरता देखाउनुपर्छ । सबै ठाउँमा यसको जरुरी हुँदैन ।
सेक्स सीनलाई बढी प्राथमिकतामा राखिन्छ चलचित्रमा किन यस्तो भएको ?
सेक्स एउटा आधारभूत आवश्यकताको वस्तु हो । तर त्यसलाई जहाँ पायो त्यही प्रस्तुत गर्नु उचित होइन । चलचित्रमा यसलाई थोरै भए पनि प्रस्तुत गरिएको हुन्छ वास्तवमा त्यो चलचित्र चलाउनका लागि गरिएको होला । तर सबै चलचित्रको कथाले सेक्स सीन मागेकै हुन्छ भन्ने चाहिँ होइन । चलचित्रको प्रोमोमा त्यो सीनलाई राखेर मार्केटिङ गरिन्छ तर चलचित्रले हावा खाइरहेको अवस्था छ ।
मिस नेपाल बन्नका लागि आयोजकको सम्पूर्ण इच्छा पूरा गर्नुपर्छ भन्ने कुरा तपाईंले भन्दै आउनुभएको छ, के यो साँचो हो त ?
मेरो सिनेमामा त्यो कुरा छ कि छैन त्यो हेरेपछि थाहा पाइहाल्नु हुनेछ । तर मिस नेपाल बन्दाको अवस्थामा विक्नीमा फोटोसुट गर्नुपर्ने अनि आयोजकहरुको इच्छाअनुसार बन्धक बन्नुपर्ने, उनीहरुको मनोरञ्जनको साधन बन्नुपर्ने अवस्था चाहिँ योभन्दा पहिला हुने मिस नेपालको सर्भेक्षणबाट पनि थाहा पाउन सक्नुहुनेछ । मैले सबैसँग अध्ययन गरेर मात्रै मिस नेपाल बनाएकी हुँ ।
धेरै चलचित्र खेल्नुभयो तर सफल अभिनेत्री बन्नु भएन नि ?
चललचित्र धेरै खेलेँ तर मलाई प्रमोशन गरिएन । निर्माताहरुले प्रमोशन राम्रोसँग गरेको भए केही त्यस्ता चलचित्र पनि थिए जसले मलाई उचाइमा पु¥याउँथे । ती धेरै मध्येबाट मैले नाम लिनुपर्दा ‘को हुँ म’ले मलाई नाम दियो । त्यसपछि मिस नेपालले नै मेरो स्थान माथि उठाउँछ भन्ने मैले सोचेको छु ।
कस्तो आशा राख्नुभएको छ मिस नेपालबाट ?
म ढुक्क छु, यो चलचित्रबाट म घाटामा जाँदिनँ । हुन त चलचित्र निर्माताहरु खाली हात फर्किएका पनि छन् । पछिल्लो समय चलचित्र केही मात्र चलेका छन् तर मिस नेपालले खाली हात फर्कँदैन । यो एउटा पारिवारिक सामाजिक चलचित्र भएकाले पनि राम्रो बनेको छ । पक्कै पनि दर्शकहरुले सफल बनाइदिनुहुनेछ ।
-सुमन बैरागी

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु