मैले पीडाभित्र खुशी पाएँ

म्यूजिक खबर
प्रकाशित: १० असार २०७१, मंगलवार

कन्हैया सिंह, गायक
उत्कृष्ट सुगम संगीत गायकको अवार्ड चुम्नुभयो कस्तो अनुभव भइरहेको छ ?
एकदमै गर्वको महसुस हुँदैछ । १५ वर्षे मेरो सांगीतिक क्षेत्रमा निरन्तरताको यो पहिलो उपलब्धीमूलक प्रतिफल पाएको मैले महसुस गरेको छु । मेरो आमा टीकामाइ देवीको पनि सपना थियो छोराले सांगीतिक क्षेत्रमा उचाइ कायम गरोस्, त्यो सपना बल्ल मैले पूरा गरेँ भन्ने महसुस गरेको छु ।
एउटा गायकलाई अवार्डपछि धेरै चुनौति थपिन्छ भन्छन्, तपाईंले कसरी लिनुभएको छ ?
हुन त जिन्दगी संघर्ष नै हो र संगीतमा समर्पण भएको म एउटा गायकले यस्तो किसिमको अवार्ड र सम्मानले जिम्मेवारी अवश्य थपेको हुन्छ । हुन त एउटा कलाकारको लागि स्रोता दर्शकको माया नै सबैभन्दा ठूलो पुरस्कार हो । तर पनि बेलाबखतमा हुने यस्तो अवार्ड र सम्मानले हौसला र उर्जा थपिदिन्छ । अवश्य पनि मैले आधा जीवन संगीत क्षेत्रमा नै बिताएँ । आगामी दिनमा पनि संगीत बाहेक मेरो अरु कुनै विकल्प हुँदैन । अब यो अवार्डले पनि मलाई संगीतबाट टाढा हुन दिने छैन, बरु अझ राम्रो भन्दा राम्रो संगीत सिर्जनामा आफ्नो गायकीलाई मजबुत बनाउनेतर्फ मलाई केन्द्रित गर्नेछ ।

kanhaiya singh
तपाईंको यो भन्दा अगाडि पनि चलेका गीतहरु थिए तर संगीतमा लागेको धेरै वर्षपछि आएर अवार्डहरु प्राप्त गर्दै हुनुहुन्छ नि ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । म आफूलाई एउटा संगीतको विद्यार्थीको रुपमा लिन्छु । संगीतको सागरमा मैले धेरै गर्नुपर्छ भन्ने लाग्छ । विगतका वर्षहरुमा मेरो गीतहरु चर्चामा रहे तर पनि सम्बन्धित निकायमा मेरो गायकीको मूल्यांकन हुन सकेन होला । पछिल्लो वर्षमा मैले त्यो उचाईलाई अझ उचो बनाउँदै आए । २०७० मा आलाप २ ल्याउँदा मेरो साधनालाई मूल्यांकन गरिएको छ, त्यो कुरामा म एकदमै खुशी छु । यो मूल्यांकनका लागि म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ लाई धन्यवाद दिन चाहन्छु ।
मुटुमा पीडा बोलको गीतबाट अवार्ड पाउनुभयो तर पीडा भन्दा धेरै त खुशी मिल्यो होइन र ?
खै के हो के हो पीडाको गीत गाएँ तर खुशी दिनुभयो । पछिल्लो समयमा जति मैले पीडा र रोदनको गीत गाएँ स्रोता दर्शकले मलाई माया गरेर खुशी र हर्ष नै दिनुभएको छ । त्यसमा पनि मेरा गीत सुनेर अवार्डका जुरीहरु पनि सहानुभूति दिँदै मलाई अवार्ड चुम्ने अवसर प्रदान गरिदिनुभयो । त्यसैले मैले पीडाभित्र खुशी पाएँ ।
अन्त्यमा ?
म्यूजिक खबर डटकमको आयोजनामा भएको म्यूजिक खबर म्यूजिक अवार्डले मलाई सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड दिलायो, यसका आयोजक एवं जुरीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो अवार्डले मलाई सांगीतिक यात्रामा अझ सफलता दिलाएको छ र चुनौति पनि थपिदिएको छ । मलाई दिएको उर्जालाई अझ सक्रिय गराउन म अब छिट्टै जन्मथलोबाट कर्मथालोसम्म एकल साँझ गर्ने तयारीमा छु । यसमा सबै क्षेत्रको साथ र सहयोग मिल्नेछ भन्ने पूर्ण आशा लिएको छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु