राम्रो सिनेमा बनाउन भल्गारिटी र ग्ल्यामरसको सहायता लिनु पर्दैन

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७०, बुधबार

आकाश अधिकारी, निर्देशक÷अभिनेता
अहिले के गर्दै हुनुहुन्छ ?
नेपा मुभिजको दोस्रो प्रस्तुतिका रुपमा रहेको  चलचित्र कोहीनूरको काम गर्ने तयारीमा रहेको छु । यस चलचित्रमा श्रीकृष्ण श्रेष्ठको भूमिका रहने भएको छ । चलचित्र कोहिनूरको कथा र निर्देशन मेरो आफ्नै रहेको छ । यसको अन्तिम पोष्ट प्रोडक्सनको कार्य भने चैतको अन्तिममा बम्बइमा हुने भएको छ । यस चलचित्रमा दिप जंग राणा, नवराज विश्वकर्मा मराठी, श्वेता खड्का र श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
आफ्नो ब्यानर छाडेर अहिले अर्कैको ब्यानरमा निर्देशन गर्न जानुभएछ त ?
मैले पहिलोपटक काम गरेको रणभूमीमा लेखन निर्देशन, दाग कथा निर्देशन गरेको थिएँ भने पंक्षी आफ्नै होम प्रोडक्सनमा बनेको चलचित्र हो । मैले होम प्रोडक्सनबाहेक अन्य चलचित्रमा काम गर्दिनँ भनेको छैन । चलचित्रको कथावस्तु राम्रो हुनुप¥यो र चलचित्र बुझेको मान्छे हुनुप¥यो । श्रीकृष्ण श्रेष्ठ सशक्त कलाकारका साथै चलचित्र उद्योगलाई बुझेको र राम्रो निर्माता भएकोले पनि उहाँको चलचित्र कोहिनूरमा काम गरेको हुँ । कुनै पनि चलचित्र राम्रो बन्नुमा निर्माता लगायत कलाकार पनि राम्रो हुनुपर्छ र कथामाथि पूर्ण न्याय भएर सिनेमा राम्रो बन्न सक्छ । लेखेको कथा पर्दामा उत्रिन्छ । निर्देशकले मात्र चलचित्र पूर्ण हुँदैन र राम्रो पनि बन्न सक्दैन ।
कोहिनूर कस्तो चलचित्र हो ?
कोहिनूर महत्वपूर्ण हिरामा पनि उत्कृष्ट हिरा हो र यसको महत्व आफ्नै छ । यस चलचित्रमा कोहिनूर भन्नाले नारी त्यो पनि मूल्यावान् हिरा हो भन्ने सन्दर्भमा चलचित्र बनेको छ । चलचित्रमा नारी संवेदनाका साथै नारीमाथि हुने विभिन्न घटनालाई देखाउन खोजिएको छ । हामीले मुम्बइसम्म पुगेर बेचिएका चेलीहरुको अवस्था कस्तो छ र त्यहाँबाट कसरी फर्काउने र त्यो मुहानलाई रोक्न कसरी सकिन्छ भन्ने विषयमा रिसर्च गरेर बनाएको चलचित्र हो । महिला हिंसा वा महिलामा हुने बेचबिखन र अन्य कुरा रोक्नलाई गाउँगाउँमा कसरी जनचेतना फैलाउने भन्ने विषयमा चलचित्र बनेको छ । यसका साथै चलचित्रमा एक्सन र मायाप्रेमलाई पनि देखाउन खोजिएको छ ।
अहिलेको चलचित्र उद्योगको अवस्था कस्तो देख्नुभएको छ ?
पहिलाभन्दा अहिले चलचित्र उद्योग प्रविधिमा अगाडि रहेको छ । कहिले पनि चलचित्र बनाउनेहरुले चलचित्रको धारलाई परिवर्तन गर्नुभन्दा पनि त्यो आफैं पनि परिवर्तन भइरहेको हुन्छ समयसमयमा । फिल्म मेकरले समय सापेक्षित कुरालाई चित्रांकन गरेर यसभित्र इन्टरनटेनका साथै सन्देशमूलक चलचित्र बनाउन सकेमा अहिले पनि चलचित्र उद्योगबाट धेरै आश गर्न सकिन्छ । म केमा विश्वास गर्छु भने कुनै पनि सिनेमाको मेरुदण्ड भनेको चलचित्रको विषयवस्तु हो । राम्रो सिनेमाको लागि प्राविधिक पक्ष, निर्देशक, निर्माता र होल टिम नै राम्रो हुनुपर्छ र सिनेमा बुझेको हुनुपर्छ । राम्रो सिनेमा बनाउन भल्गारिटी र ग्ल्यामरसको सहायता लिनु पर्दैन । त्यस्तो सिनेमाले बजारमा थोरै दर्शक तान्छ भने व्यवसायिक सिनेमाले धेरै दर्शकलाई तान्छ । त्यसैले पनि हाम्रो चलचित्र उद्योगले यस कुरालाई बुझेर अगाडि बढ्नुपर्ने अवस्था देखिएको छ ।
नेपाली सिनेमा राम्रो बनेन भन्ने आरोप लागिरहेको हुन्छ नि ?
हाम्रो नेपाली सिनेमाहरु पनि अन्तर्राष्ट्रियस्तरमा जान सक्ने भइसकेका छन् । तर अन्तर्राष्ट्रिय भन्ने वित्तिकै बजेटको कुरा आउँछ र सिनेमाको क्याटगोरी छुट्याइन्छ । त्यसमा मापदण्ड पनि तोकिएको हुन्छ । तर हाम्रो नेपाली सिनेमामा त्यस्तो हुन सकेको छैन । अहिले हामी टेक्नोलोजीमा मात्र अगाडि बढेर सशक्त मौकिल विषयवस्तुमाथि चलचित्र बनाए मात्र दर्शक तान्न सक्छ, विदेशमा बस्ने नेपाली हुन् वा स्वदेशका नेपाली । हलिउड, बलिउडका सिनेमामा डाइरेक्टरले जे चाह्यो त्यही हुन्छ तर हामीले चाहेर पनि त्यो गर्न सक्दैनौं । बजेटको कारण र सिनेमा बजारका कारणले हामीले सोचेजस्तो चलचित्र बनाउन सकिन्छ । त्यसैले पनि हलिउड बलिउडसँग प्रतिस्पर्धा गर्नुअघि भौगोलिक, आर्थिक जनसंख्या हेर्नुपर्छ । सिनेमा दर्शकका लागि बनाउने हो । अहिले प्रविधिले मान्छेलाई हलसम्म जाने फुर्सद नै दिएको छैन । सबैको हातहातमा मोबाइल हुन्छ जसले उनीहरुलाई चाहेको कुरा उपलब्ध गराइरहेको हुन्छ । यस्तो अवस्थामा दर्शकलाई हलसम्म ल्याउन सक्ने चलचित्र बनाउनु च्यालेन्जिङ कुरा हो ।
हलिउड, बलिउडसम्म प्रतिस्पर्धा गर्नका लागि हाम्रो चलचित्र उद्योगले सक्दैन ?
हाम्रो चलचित्र उद्योग बलिउडभन्दा झन्डै ८५ वर्ष र हलिउडभन्दा १ सय ६ वर्ष पछि छ । तर पछिल्लो समय हामी पहिलाका सिनेमाभन्दा धेरै अगाडि आइसकेका छौं । डिजिटल प्रविधिलाई आत्मसात गर्दै हाम्रो उद्योग पनि अहिले डिजिटलमय भइसकेको छ । सूचना प्रविधिले यतिसम्म जोड्यो की मेकरले बनाएको कुरा दर्शकले तुरुन्त थाहा पाउँछन् । यो दर्शकको हकको कुरा पनि हो । यस अनुरुप हामीले नेपाली बजारलाई विकास गर्न भने सकेका छैनौं । अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नका लागि पहिला बजार खोज्ने की लगानी गर्ने भन्ने द्विविधामा छौं हामी । अन्तर्राष्ट्रिय बजार खोज्ने कुरामा सरकारले पनि सक्दो पहल गरिदिनु पर्छ । यसका लागि राष्ट्रियस्तरका चलचित्रकर्मीले पनि पहल गर्नुपर्छ । सरकारले गठन गरेको चलचित्र विकास बोर्डले पनि र विश्वमा जति राजदूताबास छन् तिनीहरुको कल्चरसेक्सनले पनि नेपाली चलचित्रलाई खासै सहयोग गरेको छैन । मौलिक कथावस्तु बोकेका सिनेमालाई राज्यले विशेष पहल गर्ने हो भने बलिउड, हलिउडका सिनेमामा प्रतिस्पर्धा गर्न सक्छौं ।
चलचित्र क्षेत्रलाई व्यवसायिक बनाउन के गर्नुपर्छ ?
नेपाली चलचित्र बजारलाई व्यवसायिक र मर्यादित बनाउन सबैभन्दा पहिला चलचित्रको क्याटगोरी छुट्याउनु पर्छ । यसको लागि हामीले पहल पनि गरेका हौं । यसका साथै बक्स अफिस नआएसम्म चलचित्र बजार सोचेजस्तो फस्टाउँदैन । निर्माता र प्रदर्शकको बीचमा दोषारोपण मात्र भएको छ । हामीमा नीति मात्र बन्छ तर कार्यान्वयनमा गाह्रो हुन्छ । हाम्रै पहलबाट संविधानसभामा यादव खरेलको संयोजकत्वमा संचार मन्त्रालयमा हामीले नीति नियमको पहल पनि गरेका थियौं र त्यो पेश पनि भएको थियो । तर सरकार परिवर्तनसँगै ती कुराहरु पूरा हुन सकेनन् । यो कुरा बुझ्न नचाहेका हुन् वा बुझी बुझी वेवास्ता गरेका हुन् या हामी चलचित्रकर्मीले बुझाउन नसकेको हो । बक्स अफिस लागू हुने वित्तिकै सिनेमा क्षेत्रबाट पनि राज्यले उत्कृष्ट राजश्व तिर्नसक्छ । यो कुरा सरकारले समेत बुझ्नुप¥यो ।

aakash adhikari
चलचित्र बनाउन भन्दा पनि चलाउन पापड पेल्नुपर्छ भन्छन् ?
यो कुरा एकदम सही हो । राम्रो विषयवस्तुमा लगानीकर्ता मिलेर सिनेमा निर्माण हुन्छ । तर तोकेको मितिमा रिलिज गर्न पाइरहेको हुँदैनौं । सिनेमा चलाउन एकदम गाह्रो छ । यसलाई सजिलो बनाउन लगानीकर्ताले गरेको लगानी उठान र हलवाला दुईवटैलाई सहज हुने वातावरण राज्यले निर्माण गर्नुप¥यो । हामीमा नीति क्लियर नभएर पनि चलचित्र भनेको समयमा चलाउन पाइरहेका छैनौं । यसले निर्मातालाई बढी मार परिरहेको छ ।
नायिकाहरु चलचित्र खेल्नलाई निर्माता निर्देशकसँग सम्झौता गर्नुपर्छ भन्ने आरोप लागिरहेको छ नि ?
आफूमा क्षमता छ भने कसैसँग केही सम्झौता गर्नुपर्छ जस्तो लाग्दैन । म यसै विषयमा पढेर आएको हुँ र मैले चलचित्र क्षेत्रलाई राम्रोसँग बुझेको छु । त्यसैले मलाई लाग्छ आफ्नो क्षमता र आफूमा सक्षम छ भने कसैसँग सम्झौता गर्नुपर्दैन । यस्तो कुरामा निर्माता निर्देशक मात्र दुवै पक्ष दोषी हुँदैन । क्षमता छ भने कसैसँग झुक्नु पर्दछ । नाटक, टेलीफिल्म आदिमा पनि क्षमता भएकाहरु धेरै कलाकार आइरहेका छन् । यी सबै सम्झौता गरेर नै आएका होइनन् आफूमा क्षमता भएका कारणले पनि आएका हुन् ।
तपाई आफैं निर्देशक, निर्माता, कलाकार हुनुहुन्छ, के खर्च कम गर्ने उपाय हो की चलचित्र चलाउने ?
मैले बम्बइमा मधुमति फिल्म्स इन्स्टिच्यूट अफ महाराष्ट्रबाट चार वर्ष प्रत्येक विधामा कोर्ष गरेर आएको हुँ । त्यसैले निर्देशकको हरेक एंगल बुझ्नुको साथै अभिनय पनि मैले सिकेर आएको छु । म आफ्नो चलचित्रमा कथावस्तु हेरेर आफूलाई जुनमा फिट हुन्छ त्यसमा मात्र अभिनय गर्छु । तर त्यसको लागि डबल समय लाग्छ । होमवर्क धेरै गनुृपर्छ । मैले चलचित्र जनयुद्धमा अभिनय मात्र गरेर पनि पहिलो नेशनल अवार्ड प्राप्त गरेको थिएँ । म रहरले खेल्ने होइनँ, यदि कुनै भूमिकालाई न्याय गर्न सक्दिनँ भने त्यसमा खेल्दिनँ । तर कसैले भने भनेर पछि पनि हट्दिनँ । सिनेमा मेरो व्यवसाय हो । मैले चलचित्र पंक्षीमा ७ वटा विधामा काम गरेको छु । त्यसैले पनि  होम प्रोडक्सनमा म आफैं निर्देशक, निर्माता, अभिनयमा काम गरेको हुँ । तर बजेट कम गर्न भने होइन ।
-गीता अधिकारी/फिल्मीखबर साप्ताहिकबाट

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु